पश्चिमी वायु र मनसुनको प्रभाव : देशभर बदली, केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं : हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव देखिएको छ।
यसकै प्रभावले आज (जेठ २० गते) दिनभर र राति देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार, आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, देशको उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको पूर्वानुमान गरिएको छ।
मौसममा आउने यो बदलीको क्रम राति पनि जारी रहनेछ। आज राति पनि देशभर आंशिक देखि साधारणतया बदली रहनेछ।
कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ। उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना राति पनि रहनेछ।
वर्षा तथा चट्याङको सम्भावना रहेका क्षेत्रहरूमा सतर्क रहन मौसमविद्हरूले आग्रह गरेका छन्।
जेठ १९, २०८२ सोमबार ०८:२१:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।