विश्वकप यात्राका लागि निर्णायक सिरिज सुरू, नेपालले आज स्कटल्याण्डविरुद्ध खेल्दै

विश्वकप यात्राका लागि निर्णायक सिरिज सुरू, नेपालले आज स्कटल्याण्डविरुद्ध खेल्दै

काठमाडौं : आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालका लागि अत्यन्त महत्त्वपूर्ण एकदिवसीय सिरिज स्कटल्याण्डमा सोमबारदेखि सुरू हुँदैछ।

स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्स सम्मिलित यो त्रिकोणीय सिरिज नेपालको आगामी विश्वकप छनोट यात्राका लागि निर्णायक मानिएको छ।

नेपाल हाल ८ टोली सम्मिलित लिग २ को अंकतालिकामा पुच्छारमा रहेको छ। १२ खेल खेलेर ६ अंक मात्र जोडेको नेपाललाई विश्वकप छनोट ग्लोबल क्वालिफायरमा स्थान बनाउनका लागि अबका खेलहरूमा लगातार जित निकाल्नुपर्ने दबाब छ।

सिरिजको पहिलो खेलमा नेपालले आज घरेलु टोली स्कटल्याण्डविरुद्ध खेल्नेछ। खेल डुन्डीमा नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि सुरू हुनेछ। स्कटल्याण्डको आफ्नै मैदानमा खेल्नु नेपालका लागि केही चुनौती भने अवश्य हुनेछ।

यद्यपि, स्कटल्याण्डविरुद्धको पछिल्लो प्रदर्शन हेर्ने हो भने नेपाल केही हावी देखिएको छ। ओडिआईमा स्कटल्याण्डसँग भएका कुल ८ भेटमध्ये नेपालले ४ खेल जितेको छ भने स्कटल्याण्डले ३ जित निकालेको छ।

पछिल्ला चार भेटमा त नेपाल अपराजित छ र ३ खेलमा जित हात पारेको छ। विशेषगरी, सन् २०२३ मा कीर्तिपुरमा भएको शृंखलामा नेपालले स्कटल्याण्डलाई दुवै खेलमा हराएको थियो।

स्कटल्याण्डको चिसो र स्विङ हुने कन्डिशनमा खेल्नका लागि नेपाली टोलीले लामो समयदेखि तयारीमा छ। टोलीले स्कटल्याण्ड जानुअघि बेलायतमा विभिन्न काउन्टी क्लबहरूसँग अभ्यास खेल खेलेको थियो।

स्कटल्याण्ड पुगेर पनि टोलीले स्कटल्याण्ड ‘ए’सँग दुई अभ्यास खेल खेल्यो, जहाँ एक खेल गुमाए पनि अर्को खेलमा ब्याटिङमा राम्रो प्रदर्शन गरेको थियो।

जेठ १९, २०८२ सोमबार ०७:३३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।