श्रेयस अय्यरको शानदार ब्याटिङ : मुम्बईलाई हराउँदै पञ्जाब आईपीएल फाइनलमा

काठमाडौं : कप्तान श्रेयस अय्यरको उत्कृष्ट ब्याटिङको मद्दतले पञ्जाब किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
आइतबार भएको दोस्रो क्वालिफायर खेलमा पञ्जाबले पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको हो।
मुम्बईले प्रस्तुत गरेको २०४ रनको विजय लक्ष्य पञ्जाबले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
पञ्जाबको जितमा कप्तान श्रेयस अय्यरले सर्वाधिक ४१ बलमा अविजित ८७ रनको योगदान दिए। उनले आफ्नो पारीमा ५ चौका र ८ छक्का प्रहार गरे। यस्तै, नेहाल वधेराले ४८ तथा जोश इङ्लिसले ३८ रन जोडे।
मुम्बईको बलिङतर्फ अश्वनी कुमारले २ विकेट लिए भने ट्रेन्ट बोल्ट र कप्तान हार्दिक पाण्ड्याले १-१ विकेट हात पारे।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २०३ रन बनाएको थियो। मुम्बईका लागि तिलक वर्मा र सूर्यकुमार यादवले समान ४४-४४ रन बनाए भने नमन धीरले ३७ रन जोडे।
पञ्जाबका बलर अजमतुल्लाह ओमरजाइले २ विकेट लिए। काइल जेमिसन, मार्कस स्टोइनिस, विजयकुमार वैशाक र युजभेन्द्र चहलले १-१ विकेट लिएका थिए।
जितसँगै पञ्जाब किङ्स सन् २०१४ पछि पहिलो पटक आईपीएलको फाइनलमा प्रवेश गरेको छ। सन् २०१४ को फाइनलमा पञ्जाब कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो।
अब उपाधिका लागि पञ्जाबले फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुको सामना गर्नेछ। फाइनल खेल मंगलबार हुनेछ।
जेठ १९, २०८२ सोमबार ०७:२४:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।