डा. चुमनलालको बदमासीमा स्वास्थ्यमन्त्री पौडेल मौन, नारायणीको १६ करोडको खरिदमा ‘प्याकेज भ्रष्टाचार’

डा. चुमनलालको बदमासीमा स्वास्थ्यमन्त्री पौडेल मौन, नारायणीको १६ करोडको खरिदमा ‘प्याकेज भ्रष्टाचार’

काठमाडौं : नारायणी अस्पतालले प्रारम्भमै मिलेमतो अनुसार निकालेको १६ करोड दुई लाखको चार टेन्डरमा एक-एक मात्र प्रस्ताव पर्यो। खरिद कानुन लत्याउँदै मिल्नै नमिल्ने प्याकेज बनाएर निकालिएको टेन्डरको प्राविधिक मूल्याङ्कनमा मिलेमतो अनुसारकै तीन सप्लायर्स कम्पनीको प्रस्ताव पास भयो।

मिलेमतोको फेहरिस्त सार्वजनिक हुँदा पनि स्वास्थ्य मन्त्रालयको नेतृत्व गरिरहेका मन्त्री प्रदीप पौडेल मौन बसे अनि जेठ १८ गते आइतबार अस्पतालले मिलेमतो अनुसारै तीनै सप्लायर्सलाई टेन्डर दियो।

आइतबार प्रकाशित बोलपत्र स्वीकृत आशयको सूचना अनुसार एक करोड १७ लाख ८५ हजारमा ‘क्याथ ल्याब इक्वीप्मेन्ट्स’ काठमाडौं ठेगाना भएको बायोमेड इन्टरनेश्नल प्रालि र दुई करोड ९६ लाख १५ हजारमा ‘युरो सर्जरी इक्वीप्मेट्स’ कैलालीको धनगढी ठेगाना भएको डीबी मेडिसिन सेन्टरले पायो।

तीन करोड ९५ लाख ६ हजारमा ‘मेडिकल इक्वीप्मेन्ट’ र ६ करोड ७३ लाख २३ हजारमा ‘ओटी सेटअप’ काठमाडौं ठेगाना भएको पीएसई लाइफ साइन्सेस प्रालिसँग खरिद गर्ने गरी अस्पतालले टेन्डर स्वीकृत गर्दै सूचना निकाल्यो।

अस्पताल नेतृत्वले मिलेमतो अनुसार नै फरक–फरक प्रकृतिका सामग्रीहरूको एकै प्याकेज बनाएर निश्चित कम्पनीले मात्र प्रतिस्पर्धा गर्न सक्ने गरी खरिद प्रक्रिया अगाडि बढाएको थियो। असम्बन्धित सामग्री राखेर प्याकेज बनाउनु भ्रष्टाचार निवारण ऐन अनुसार भ्रष्टाचार हो।

प्रारम्भमै अस्पताल प्रमुख डा चुमनलाल दासले निश्चित सप्लायर्सको हितमा एक अर्कासँग असम्बन्धित मेडिकल उपकरणको प्याकेज बनाएर खरिद प्रक्रिया अगाडि बढाए। प्रिबिड बैठकमा यसको विरोध भए पनि मिलेमतो भत्कनेगरि खरिद मापदण्ड संशोधन भएन। मन्त्री पौडेलले वास्ता गरेनन्।

अस्पताल प्रशासनकै मिलेमतोमा निश्चित सप्लायर्सको हितमा खरिद प्रक्रिया अगाडि बढेपछि अन्य सप्लायर्सहरुले प्रस्ताव समेत हालेनन्। प्राय एक मात्र प्रस्ताव परेमा प्रक्रिया रद्द हुने भए पनि डा दासले भने त्यसमा चासो देखाएनन्। केन्द्रको नेतृत्वले वास्ता गरेन। अनि उनले पेलेरै मिलेमतो अनुसारका प्रस्तावहरू अगाडि बढाएर सार्वजनिक सूचना निकाले।

यी चार वटै टेन्डर आह्वान गर्दा सुरुवाती चरणमा नै उकेराले मिलेमतोको खुलासा गर्दै अस्पतालले जस–जसलाई जुन जुन टेन्डर दिनेगरी मिलेमतो गरेको छ भनेर समाचार सम्प्रेषण गरेको थियो आइतबार तीनै सप्लायर्सको नाममा टेन्डर स्वीकृतिको सूचना निस्कियो।

यी चार वटै टेन्डर मापदण्ड बनाउन जिम्मेवारी बायोमेडिकल इन्जिनियर अमित चौधरीले पाएका थिए। उनी आफैँ स्वास्थ्य उपकरण तथा सामग्री सप्लाइ गर्ने निजी कम्पनीमा आबद्ध व्यक्ति हुन्। उनी एमकेयर टेक्नोलोजीमा आबद्ध छन्। यसबाट समेत खरिद प्रक्रियामा अस्पताल प्रमुख दासको नियत देखाउँछ नै।

खरिद मिलेमतोबारे सप्रमाण समाचार प्रकाशित हुँदा पनि अस्पतालको नियमन र निर्देशन दिने जिम्मेवारी रहेको स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सचिव डा विकास देवकोटा र मन्त्री प्रदीप पौडेलले चासो देखाएनन्। मौन रहेर उनीहरूले मिलेमतोलाई नै प्रशय दिएको देखियो।

यसरी भएको थियो सेटिङको खेल

अस्पताल प्रशासनले प्रक्रियाको प्रारम्भदेखि निश्चित कम्पनीको उत्पादक मेसिनसँग मात्र मिल्ने गरी मापदण्ड बनाएर खरिद प्रक्रिया अगाडि बढाएको थियो।

अन्य सप्लायर्सहरुले मापदण्ड बदनियतका साथ निश्चित कम्पनीको प्रस्ताव मात्र पास हुने गरी बनाएको भन्दै संशोधनको माग नगरेका हैनन्। तर, अस्पताले नेतृत्वले मिलेमतो गरेका बुँदाहरू संशोधन गरेनन्।

अस्पताल प्रशासनले ‘क्याथ ल्याब इक्वीप्मेन्ट्स’, ‘युरो सर्जरी इक्वीप्मेट्स’, ‘मेडिकल इक्वीप्मेन्ट’ र ‘ओटी सेटअप’ गरी चार टेन्डरमध्ये ओटी सेटअप सम्बन्धी मेसिनको खरिद मापदण्डका केही प्रावधान संशोधन गरे पनि अन्य तीनको जस्ताको त्यस्तै राखेर खरिद प्रक्रिया अगाडि बढायो।

अस्पताल प्रमुख डा चुमनलाल दासले नै उकेरासँग चार वटा टेन्डरमा एउटा–एउटा मात्रै प्रस्ताव परेको पुष्टि गरेका थिए। एउटा मात्र प्रस्ताव पर्दा प्रतिस्पर्धा हुन नसक्ने भएकाले अस्पताल प्रशासनले प्रक्रिया रद्द गर्न सक्थ्यो। तर गरेन।

नारायणी अस्पतालको खरिद प्रक्रियाका चार वटा टेन्डरमध्ये करिब १२ करोड ४६ लाख रुपैयाँको दुई वटा टेन्डरको प्राविधिक मूल्याङ्कनमा छानेको ‘पीएसई लाइफ साइन्सेस प्रालि’ खरिद मिलेमतोमा बदनाम कम्पनी हो। यो बारा सिम्रौनगढका शशी कुमार श्रीवास्तवको कम्पनी हो। यो कम्पनीको अधिकांश टेन्डरहरू विवादित देखिन्छन्।

‘ओटी सेटअप’ र ‘मेडिकल इक्विप्मेन्ट्स’को टेन्डरको प्राविधिक मूल्याङ्कनमा श्रीवास्तवको कम्पनी ‘पीएसई लाइफ साइन्सेस प्रालि’ मात्रै छनोट भएको थियो। र, उसैलाई नै अस्पतालले टेन्डर स्वीकृत पनि गरिदियो। यो कम्पनीले नारायणी अस्पतालले निकाल्ने अधिक टेन्डर पाउने गरेको देखिन्छ। यसले अस्पताल प्रशासन लामो समयदेखि श्रीवास्तवको प्रभावमा रहेको देखाउँछ।

सम्बन्धित समाचार

‘युरो सर्जरी इक्विप्मेन्ट्स’ सम्बन्धी मेसिनको टेन्डरको  प्राविधिक मूल्याङ्कनको चरणमा ‘डीबी मेडिसिन सेन्टर’ एक्लै छानिएको थियो। यसको सञ्चालक दुश्यन बस्नेत हुन्। अस्पतालले उसैलाई टेन्डर स्वीकृत गरिदियो। यो पनि खरिद मिलेमतोमा बदनाम कम्पनी हो।

‘क्याथ ल्याब इक्विप्मेन्ट्स’को टेन्डरको प्राविधिक मूल्याङ्कनको चरणमा ‘बायोमेड इन्टरनेश्नल प्रालि’ छानिएको थियो। ‘बायोमेड इन्टरनेश्नल प्रालि’ का प्रमुख उमेश अग्रवाल हुन्। अग्रवालको कम्पनी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खरिददेखि नै बदनाम कम्पनी हो।

छनोट विधि र आपूर्तिको खेल

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै विशेष अदालतमा दायर गरेको मधेस प्रदेशको स्वास्थ्य सामग्री खरिद प्रक्रियाको अनियमितता सम्बन्धी अभियोग पत्रमा खरिद मापदण्ड निश्चित कम्पनीका लागि मात्र मिल्नेगरि बनाएर खरिदमा प्रतिस्पर्धा हुने वातावरण नबनाउनुलाई भ्रष्टाचार भनेको छ।

नारायणी अस्पताल प्रशासनले अगाडि बढाएको यी चार वटै टेन्डरको खरिद मापदण्ड र प्याकेज हेर्ने हो भने अख्तियारले जुन कामलाई भ्रष्टाचार भनेको छ ठ्याक्कै त्यस्तै देखिन्छ।

यसमा पहिलो बदनियत खरिद मापदण्डमै गरेको देखिन्छ। मापदण्डमा खेलेर निश्चित कम्पनीको उत्पादक मेसिनको मापदण्ड मात्रै मिल्ने बनाइयो। स्वतन्त्र प्रतिस्पर्धा नहुने भएपछि अन्य प्रस्तावकहरू नै आएनन्।

अर्को, नारायणी अस्पतालले टेन्डरमा अन्तर्राष्ट्रिय स्तरको बोलपत्र (आइसिबी) लाई निषेध गर्दै ‘राष्ट्रिय स्तरको बोलपत्र (नेश्नल कम्पिटेटिभ बिडिङ (एनसीबी) विधि अपनायो।

अस्पतालले यी चार वटै टेन्डरमा ३० दिन भित्रमा सामग्री ल्याइदिनुपर्ने अनौठो सर्त समेत राखेको छ। यो सर्तले पनि यी चारै खरिद प्रक्रिया मिलेमतोमा अगाडि बढेको देखिन्छ।

यी मेसिन तथा औजार र स्वास्थ्य सामग्री नेपालमा बन्दैनन्, विदेशबाट नै ल्याउने हो। सप्लायर्सले टेन्डर पाएपछि नै मेसिन तथा उपकरण ल्याउने प्रक्रिया अगाडि बढाउने हो। विदेशबाट सामान्यतया ३० दिनमा  यी सामान ल्याउन सम्भव छैन।

तर, यी चार वटै टेन्डरमा ३० दिनमा सामान ल्याइदिनुपर्ने सर्त राखिनुले टेन्डर प्रक्रिया अगाडि बढाउने चरणमै कसलाई टेन्डर दिने भन्ने पक्कापक्की गरेर यता सामान ल्याउने र उता खरिद प्रक्रिया अगाडि बढाउने काम सँगै सुरु भएको देखाउँछ। ३० दिनभित्र सामान दिने अर्को सम्भावना सप्लायर्सले पहिल्यै ल्याएर गोदाममा राखेको मात्र हो।

असम्बन्धित सामानको एउटै प्याकेज

संशोधन भएको भ्रष्टाचार निवारण ऐन, २०८१ मा राखिएको प्रावधान र नारायणी अस्पतालले अगाडि बढाएको खरिद प्रक्रियाको मापदण्ड हेर्ने हो भने सिधै भ्रष्टाचार देखिन्छ।

ऐनमा ‘प्रतिस्पर्धालाई जानी जानी प्रभाव शून्य वा सीमित वा कमजोर बनाउने उद्देश्यले सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानून प्रतिकुल हुने गरी सर्त तथा मापदण्ड निर्धारण गर्ने, गराउने वा खरिद कार्यलाई टुक्र्याउने, टुक्र्याउन लगाउने वा प्याकेजिङ गर्ने गराउने’ कामलाई भ्रष्टाचार मानेको छ।

ऐनले यस्तो काम गरेको प्रमाणित भएमा तीन वर्ष सम्म कैद र बिगो बमोजिम जरिवाना गरी असुल उपर गरिने उल्लेख छ। ऐनमा ‘मनासिब कारण बिना लागत इष्टिमेट अस्वाभाविक रूपमा बढाई संशोधन गरी काम गर्ने, गराउने’ गैर कानुनी लाभ वा हानि पुर्याउने बदनियतले काम गर्नेलाई सजाय हुने थप व्यवस्था गरेको छ। यसमा पनि तीन वर्षसम्म कैद र बिगो बमोजिमको जरिवाना र बिगो असुल उपर गरिने व्यवस्था छ।

टेन्डरमा गरिएका प्याकेजहरू हेर्दा भ्रष्टाचार निवारण ऐनको यो व्यवस्था अनुसार सिधै भ्रष्टाचार देखिन्छ। अस्पतालले २०८१ चैत १२ मा टेन्डर आह्वान गर्दै खरिद प्रक्रिया अगाडि बढाएको ‘ओटी सेटअप’ सम्बन्धी मेसिनको ठेक्का प्रक्रियाको सुरुमा एउटै टेन्डरमा ‘११’ वटा सामग्रीको प्याकेज बनाएको थियो।

प्रिबिड मिटिङपछि २०८२ वैशाख ८ (२०२५, अप्रिल २१) मा अस्पताल प्रशासनले केही प्रावधान संशोधन गर्दै ‘११’ किसिमका सामग्रीको प्याकेज फुटाएर ११ वटै सामग्री छुट्टाछुट्टै रूपमा टेन्डर प्रस्ताव गर्न मिल्ने बनायो।

तर, अस्पतालले यो टेन्डरको प्याकेज फुटाउनुको कुनै अर्थ देखिएन। प्याकेज बनाउँदा टेन्डरमा मिलेमतो भएको पुष्टि हुने भएपछि फुटाइयो तर मापदण्डमा गरिएको मुख्य लक्ड बुँदा संशोधन भएन। यो पीएसई लाइफ साइन्सेस प्रालिका लागि लक्ड गरिएको थियो। ‘ओटी सेटअप’ सम्बन्धी मेसिनको टेन्डर (आइएफबी) नम्बर ‘एन-एचएनसीबी–गुड्स–२०८१–०८२–१५’ छ।

नारायणीको अर्को टेन्डर पनि उसैगरि प्याकेज बनाएर लक्ड गरेको थियो। अस्पतालले विभिन्न १० किसिमका सामग्रीलाई एउटै प्याकेज बनाएर ‘मेडिकल इक्विप्मेन्ट्स’ खरिद गर्ने गरी प्रक्रिया अगाडि बढायो।

अस्पतालले ‘डियोड लेजर’ एक, ‘बब्बल सिप्याप मेसिन वीथ सर्भिस कन्ट्रोल ह्युम्डिफायर’ पाँच वटा, ‘न्यूनेटल थर्मल केयर युनिट हाइ इन्ड’ एउटा, ‘होलबडी हाइपरबिलिरुबिनेमिया ट्रिटमेन्ट युनिट’ एक, ‘प्लाज्मा स्टेरिलाईजेशन डिभाइस’ एकलाई प्याकेजमा राख्यो।

त्यसैगरी  ‘पेसेन्ट वार्मिङ युनिट’ दुई वटा, ‘एडभान्स अपरेटिङ रन एस्पीरेटर’ तीन वटा, ‘अब्सटेट्रिक भ्याक्युम एक्सट्राक्टर मेसिन’ दुई वटा, ‘पेसेन्ट ट्रान्सफर ट्रली’ पाँच वटा, ‘क्रास कार्ट ट्रली पाँच वटालाई पनि सोही प्याकेजमा राखियो। यी मध्ये केही सामग्री फरक–फरक प्रकृतिका छन्।

‘बब्बल सिप्याप मेसिन वीथ सर्भिस कन्ट्रोल ह्युम्डिफायर’ ‘होलबडी हाइपरबिलिरुबिनेमिया ट्रिटमेन्ट युनिट’ र ‘प्लाज्मा स्टेरिलाईजेशन डिभाइस’ जस्ता मेसिन तथा उपकरण एउटै प्याकेजमा राख्न जरुरी थिएन। यसको उद्देश्य मिलेमतो नै थियो।

यसमा पनि पीएसई लाइफ साइन्सेस प्रालीले मात्र प्रस्ताव गर्यो र उही मात्र प्राविधिक अनि आर्थिक मूल्याङ्कनमा पास भयो।

नारायणी अस्पतालले यो ‘मेडिकल इक्विप्मेन्ट्स’ २०८१ फागुन २७ मा टेन्डर आह्वान गरेको थियो। यसको ठेक्का (आइएफबी) नम्बर ‘एनएच–एनसीबी–गुड्स–२०८१–०८२–१४’ हो।

अस्पताल प्रशासनले ‘युरो सर्जरी इक्विप्मेन्ट्स’ सम्बन्धी मेसिन किन्न आव्हान गर्दा सात वटा सामग्रीलाई एकै प्याकेजमा राखिदियो।

यसमा ‘पोर्टेबल रियुजेबल नासोफ्रीङ्गोलारिङ्गोस्कोप’ एक, ‘लिथोट्रिप्सी (न्योम्याटिक–बालिष्टिक सिस्टम)’, एक, ‘युरेथ्रोटोमी सेट’, एक, ‘युरोडाइनामिक सेट’, एक, ‘फ्लेक्जिबल यूआरएस सेट’, ‘अल्ट्रासोनिक स्काल्पेल सिस्टम’ र एउटा ‘यूरोफ्लोमिट्री मेसिन सेट’ को प्याकेज बनाएको थियो।

यसमा कैलालीको डीबी मेडिसिन सेन्टरको मात्र प्रस्ताव पर्यो। उसैलाई नै प्राविधिक र आर्थिक दुवै मूल्याङ्कनको चरणमा पास गरियो। अस्पतालले २०८१ फागुन १६ मा यसको टेन्डर आह्वान गरेको थियो। ‘युरो सर्जरी इक्विप्मेन्ट्स’ सम्बन्धी मेसिनको ठेक्का (आइएफबी) नम्बर ‘एनएच–एनसीबी–गुड्स–२०८१–०८२–१३’ हो।

अस्पताल प्रशासनले ‘क्याथ ल्याब इक्विप्मेन्ट्स’को टेन्डरमा पनि उसैगरि प्याकेज बनाएको थियो। यसमा ‘सिस्टम अफ एनेस्थेसिया डेलिभरी वीथ कार्डियाक बाइपास फंशन’, ‘इस्केमीया डिटेक्शन इलेक्ट्रो आर्डियोग्राफी मेसिन’ र ‘पोर्टेबल इको मेसिन’ लाई एकै प्याकेजमा राखिएको थियो। यो पनि मिलेमतोमै अगाडि बढेको थियो।

‘क्याथ ल्याब इक्विप्मेन्ट्स’मा ‘बायोमेड इन्टरनेश्नल प्रालि’ले टेन्डर मात्र प्रस्ताव गर्यो। अस्पताल प्रशासनले प्राविधिक स्पेशिफिकेशनको मूल्याङ्कन र आर्थिक मूल्याङ्कनको चरणमा उसैलाई छनोट गर्दै टेन्डर स्वीकृत गरिदियो। यसको ठेक्का (आइएफबी) नम्बर ‘एनएच–एनसीबी–गुड्स–२०८१–०८२–१२’ हो।

जेठ १८, २०८२ आइतबार २१:२०:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।