कोटेश्वर, बल्खु र सिफल चौर बाहेक अन्यत्र निषेधाज्ञा जारी, विरोध प्रदर्शन गर्न नपाइने

काठमाडौं : स्थानीय प्रशासनले काठमाडौंको कोटेश्वर, बल्खु र मित्रपार्कमा रहेको सिफल चौर क्षेत्रमा मात्रै विरोध प्रदर्शन गर्न पाउनेगरि निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौँले आइतबार विज्ञप्ति जारी गर्दै ती तीन स्थान बाहेक अन्यत्र दुई महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको हो।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम निषेधाज्ञा जारी गर्दै कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र, बल्खु क्षेत्र र सिफल चौर क्षेत्रमा भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रम गर्न पाउने जनाएको छ।
स्थानीय प्रशासनले केही दिन अगाडि नारायणहिटी क्षेत्र बाहिर पनि निषेधाज्ञा जारी गरेको थियो। यस अगाडि नै प्रतिनिधि सभा भवन अगाडिको क्षेत्र, सिंहदरबार क्षेत्र र बालुवाटार प्रधानमन्त्री निवास वरिपरिको क्षेत्रमा निषेधाज्ञा जारी गरिसकेको छ। राजतन्त्र फर्काउने भन्दै राजावादीहरू आन्दोलनमा उत्रिएपछि स्थानीय प्रशासनले निषेधित क्षेत्रको संख्या बढाउँदै लगेको हो।
*संशोधन गरिएको
जेठ १८, २०८२ आइतबार २०:२७:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।