राज्य लक्ष्मीको प्रसव पीडा र खुसी : गर्भावस्थामा घरेलु हिंसा साह्रै गाह्रो, कसैले भोग्न नपरोस् !

उद्यमी राज्य लक्ष्मी शाक्य नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन विकास समिति सभापति हुन्। कीर्तिपुर उद्योग वाणिज्य संघको संस्थापक अध्यक्ष समेत रहेकी उनी अहिले यसमै व्यस्त हुन्छिन्।
महिलालाई समानता, हिंसा अनि उद्यमशीलताको कुरामा पनि अघि बढ्दै उनी मनोपरामर्श दिन्छिन्। ‘जेल पछि पनि जीवन छ’ भनेर जेल भित्र रहेका कैदीहरूलाई मासिक रूपमा परामर्श पनि गर्छिन्। कुनै समय आफै घरेलु हिंसाको सिकार भएकी उनी अहिले भने यसबाट निस्किसकेकी छिन्।
लामो समय सञ्चार क्षेत्रमा समेत सक्रिय रहेकी उनी पत्रकार महासंघ काठमाडौंको अध्यक्ष रहिसकेको बताउँछिन्। अहिले उनी पत्रकार भन्दा पनि सञ्चारकर्मीको रूपमा आफूलाई चिनाइरहेकी छिन्। उनले १९ वर्ष यस क्षेत्रमा काम गरिन् । अहिले पनि बेलाबेला लेखहरू लेख्ने गर्छिन्।
सञ्चार क्षेत्रबाट टाढा भएसँगै ह्याण्डीक्राफ्टमा उनी लागिन्। नेपालमा खादाको रूपमा ढाकाको कपडा प्रयोग गर्न उनी नै अग्रसर भइन्। अहिले ढाकाको कपडाको सामानहरू समेत बनाउँछिन्।
उनको मनकामना ढाका उद्योग गाउँ-गाउँमा घरेलु उद्योगको रूपमा स्थापित छ। उनै सञ्चारकर्मी तथा उद्यमी राज्य लक्ष्मी दुई सन्तानकी आमा समेत हुन्। आफ्नो गर्भावस्थामा भोग्न परेको घरेलु हिंसादेखि दुर्घटनासम्मको कुरा उनले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा यसरी सुनाइन् :
०००
म कीर्तिपुरको पाँगामा घरको कान्छी छोरीको रूपमा जन्मिएँ। २०४५ सालको भूकम्पमा थिचिएको मलाई सबैले मर्यो होला भनेर सोच्नु भएको रहेछ। तर खुट्टामा रड मात्र घुसिएको देख्नु भएपछि उपचार तुरुन्तै भइहाल्यो। टाउकोको चोट भने कसैले पनि हेरेनन्। त्यसले गर्दा पछि ‘ब्रेन ह्यामरेज’ समेत भयो।
त्यसबेला कीर्तिपुर गाउँ पञ्चायत थियो। काठमाडौँबाट दुई किलोमिटरको मात्र दुरी भए पनि निकै विकट। हामी एकदम गरिवीमा हुर्कियौँ। गाउँमा पर्यटक आउने गर्थे, उनीहरूले स्पन्सर नगरेसम्म मैले पढ्न पाइन। पढाइ ढिला सुरु भयो तर राम्रो पढेकाले छिटो छिटो कक्षा अगाडि बढ्यो।
त्यसबेला एसएलसी सकिएपछि छोरीको बिहे गर्नुपर्छ भन्ने थियो। मेरो पनि बिहे भइहाल्यो। माया,प्रेम, विवाह भनेको के हो थाहा नभएको समयमा बिहे भएर अरूको घर जान पर्यो। घरको कान्छी छोरी, बिहेपछि जेठी बुहारी हुनुपर्दा जीवनशैली फरक भयो।
त्यो बेलामा बिहानै उठेर पानी लिएर आएर सासू-ससुरालाई ढोगेपछि दिन सुरु हुन्थ्यो। अनि घरको काम कहिले पनि नसकिने। त्यस्तो बेला मैले पढाई र बाहिरी काम गर्ने आँटै गर्नु पर्यो। जसोतसो व्यवस्थापन गरेर अगाडि बढ्दै गइरहेको थिएँ तर घरमा सकेसम्म बाहिर काम नगरोस् भन्ने नै थियो।
त्यसले घरेलु हिंसाको सिकार समेत हुनुपर्यो। बिहे पछि एक पटक मात्र रजस्वला भएको थियो, गर्भ रहिहाले छ। गर्भ रहनुको पछाडि पनि निकै कष्टकर अनुभव रह्यो। त्यो बेलामा अस्थायी साधनहरूको बारेमा त झन् केही थाहै थिएन।
श्रीमान् म भन्दा १०/१२ वर्षले जेठो हुनुहुन्थ्यो। विवाहको पहिलो रात हाम्रो शारीरिक सम्पर्क सहनै सकिन। यति धेरै रक्तस्राव भयो कि म रुँदै आमासँग गुनासो गर्न गएँ। पछि मलाई त्यस्तो सम्बन्ध राख्ने भन्यो कि ‘इरिटेड’ हुन थाल्यो। मैले आमालाई किन यस्तो गर्न पर्यो भनेर गुनासो गरेको पनि हो।
आमाले घरमै मलाई गोल(कोइला)मा तीतेपातीहरू राखेर सेकाउनुहुन्थ्यो। जँचाउन जानुपर्छ समेत कसैले भनेन। घर काठमाडौँको लगनटोलमा थियो। आमा र हजुरआमाले मलाई सन्चो बनाएर पठाउनु भए पनि म मानसिक रूपमा निकै विक्षिप्त हुन्थेँ।
हजुरआमाले जीवन चलाउन छोरीले सहनै पर्छ भन्नु हुन्थ्यो। छोरा भनेको आकाश हो, छोरी धर्ती हो, भनेर धेरै ‘म्यानुपुलेट’ गर्नु भएको अहिले महसुस हुन्छ।
त्यहीबेला सहकारीमा मार्केटिङको काम पनि गर्न थालेँ। पढाइको खर्च आफै बेहोर्थेँ। तर त्यही बेलामा गर्भ रहिहालेछ।
नौ महिनाको गर्भावस्थामा मेरो मुखमा अन्न नै जान पाएन भन्दा पनि हुन्छ। आफैले बनाएको खाना समेत मैले खान पाउँदैनथेँ। नन्दहरूबाट भोगेको घरेलु हिंसा सकेसम्म श्रीमानलाई भनिन। बच्चा पेटमा चल्थ्यो। कमजोरी भएर ताराहरू देख्थेँ। छिमेकीले थाहा पाएर मलाई भात समेत खुवाउनु भएको छ।
त्यो बेलामा म जम्मा ३२ किलोको मात्र थिएँ। आमा-बच्चा पुरै अस्वस्थ। एकदम भोक लाग्थ्यो। घरको काम, बाहिरको काम सबै सम्हाल्न पर्ने। शारीरिक र मानसिक रूपमा निकै कमजोर भएँ। त्यही पनि मैले हरेस खाइन। जे जस्तो भए पनि मैले मेरो गर्भको बच्चालाई मर्न दिइन।
मार्केटिङमा हिँडेर जाँदा खुट्टामा घाउ भएकाले अफिसले मलाई स्कुटर दिएको थियो। तर मलाई स्कुटर भन्दा मोटरसाइकल चलाउन मन भएर मोटरसाइकल चलाएँ।
त्यसबेला काठमाडौँमा पल्सर बाइक चलाउने म मात्र महिला थिए होला। गर्भवती भएकै समयमा मैले मोटरसाइकल हाँकेको हुँ। बाइक चलायो भनेर पनि मलाई घरमा कुट्न थाले। एउटाले समाउने, अर्कोले पिट्ने अनि अर्कोले खुर्सानी दलिदिनेसम्म गरे।
घर नजिकै जनसेवा थियो। त्यसबेला विद्या सुन्दर शाक्य वडा अध्यक्ष हुनुहुन्थ्यो। उहाँ नै आएर सहजीकरण गरेर मेलमिलाप गरिदिन परेको थियो।
हिंसा भएपछि डेरामा बस्न थालिसकेका थियौँ। तर बच्चा जन्माउन घरमै आउन पर्ने भनेर फेरी घर बोलाउनुभयो। धेरै नै कमजोरी भएको कारण बच्चालाई मैले प्राकृतिक रूपमा जन्म दिनै सकिन। त्यही भएर अलि छिट्टै पनि जन्मियो बाबु।
हस्पिटलमा बच्चाले अर्को बच्चा जन्माउन लाग्यो रे, भन्नुभएको थियो। दुई किलो पनि नभएको बच्चालाई जन्म दिनुपर्दा लामो समय उसलाई सिसा भित्रै राख्नु पर्यो। मैले दूध खुवाउन खोज्दा दूध पनि आएन।
हाम्रो नेवार समुदायको घर साँघुरो तल्ला मात्र हुने। तलमाथि गर्दा नै मलाई धपेडी हुन थाल्यो। अनि अप्रेसन गरेको टाँका नै चुँडियो। केही दिनको लागि सुत्केरीमा म माइती गएँ। त्यसबेला पनि म नफर्किने भनेको हुँ। तर कसैले मान्नु भएन।
सानो बच्चालाई शिशु स्याहारमा राखेर म मोटर साइकलमा सहकारीको पैसा उठाउन जान्थेँ। माइतीमा त म हठी स्वभावको भनेर चिनिएको हुँ। तर घरमा त्यसको उल्टो भयो।
पहिलो सन्तान २०५२ सालमा जन्मेको हो। अनि दोस्रो चैँ २०६२ सालमा। मैले त अर्को नपाउने भनेकै हुँ। तर सबले दुइटा त चाहिन्छ भने। दोस्रो सन्तान हुँदासम्म मैले सानो भए पनि घर बनाउन सकेँ। आफै पनि उमेरले र बुद्धिले परिपक्व भएँ।
दिदीहरू र नन्दहरूकै बच्चाहरू हुर्काएको अनुभव पनि भयो। तर दोस्रो सन्तान जन्माउने बेलामा मोटरसाइकल नचलाउनु भनेको कारण पैदल हिँड्दै गर्दा मेरो सडक दुर्घटना भयो। माइक्रो बसको सिसामा पछारिदा तुरुन्तै अप्रेसन गरेर बाबुलाई निकाल्न पर्यो। धन्न बाबु स्वस्थ रहेछ।
अहिले सम्झिँदा म आफै दङ्ग पर्छु। यस्तो-यस्तो परिस्थितिमा मैले आफ्नो सन्तानहरूलाई जन्म दिएछु। सानो बाबु दुई किलो ७५ ग्रामको थियो। त्यो धेरै होइन। तर त्यसअघि त मैले झन् दुई किलो पनि तौल नभएको बच्चालाई जन्म दिएकी थिएँ।
दोस्रो पटक गर्भवती हुँदा पहिलोको जस्तो नरमाइलो भएन। शारीरिक र मानसिक रूपमा पनि हिंसा भोग्नु परेन। आफैले घर बनाए पछि हामी छुट्टै बसिसकेका थियौँ। त्यही भएर पनि हो कि सानो बाबुलाई स्तनपान पनि धित मरुन्जेल गराउन पाएँ। दूध बढी भएर गमलामा समेत हाल्थेँ।
पहिलो पटक सुत्केरी बिग्रेको भएर होला मलाई अहिलेसम्म पनि त्यसले गाह्रो हुन्छ। जाडो महिनामा त चल्नै सकेसम्मको हुन्छु। बाबुहरू हुर्किँदै गर्दा पनि मेरो स्वास्थ्यमा धेरै समस्या हुन थाल्यो। सन् २०१७ मा त बोनम्यारो क्यान्सर नै भएको हो । डाक्टरले पाँच वर्ष मात्र समय छ भनेर पनि भनिसकेको हो।
तर अहिले सन् २०२५ भयो, बाचिरहेको छु। आफ्नै मनोबलले गर्दा हो कि जस्तो लाग्छ। टाउकोदेखि खुट्टासम्म दायाँ साइडको भागमा मेरो अहिले सम्म ११ वटा अप्रेसन भइसकेको छ।
अब त दुवै बाबुहरू हुर्किसके। पहिलाको जस्तो धेरै दुख पनि छैन। एउटा बाबु जर्मन, अर्को जापानमा छ। अब डाक्टरले तोकेको समय भन्दा बढी पनि बाचिसकेँ। मेरो सन्तानको लागि गर्न पर्ने जिम्मेवारीहरू एक हद सम्म पुरा गरिसकेँ। सामाजिक क्षेत्रमा केही उदाहरणीय काम गर्न पाएँ खुसी नै लाग्थ्यो।
जेठ १८, २०८२ आइतबार २०:०५:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।