यो पाली पनि 'भोटो दाबी गर्न' कोही आएनन्

काठमाडौं : वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन सधैँ भोटो कसैको हो भने प्रमाणसहित दाबी गर्न आउनु भन्दै देखाएर सम्पन्न हुन्छ।
यो वर्ष पनि राष्ट्राध्यक्ष रामचन्द्र पौडेल र जात्रा हेर्न जम्मा भएका आम नागरिकको बिचमा भोटो देखाइयो। तर कसैले प्रमाणसहित दाबी गर्न नआएपछि भोटो त्यतै राखियो।
कसैले सप्रमाण आएमा भोटो दिनुपर्छ भन्ने दाबी पनि गरिँदै आएको छ। किंवदन्ती अनुसार परापूर्वकालमा आँखा दुखेको नागराजकी श्रीमतीको आँखा स्थानीय कृषकले तन्त्रमन्त्रद्वारा निको पारेपछि उनले भोटो उपहारस्वरूप पाए।
खेतमा काम गर्दा हराएको भोटो उनले जावलाखेलमा आयोजित रातो मच्छिन्द्रनाथको जात्रामा एकजना राक्षसले लगाएको देखे।
कृषकले भोटो आफ्नो भएको दाबी गरे। दुवै पक्षबीच विवाद भए पनि कसैले पनि भोटो आफ्नो भएको प्रमाण पेस गर्न सकेनन्।
अनि जसले प्रमाण ल्याउँछ भोटो उसैले पाउँछ भनेर भोटो राखिएको र हरेक वर्ष जात्राको अन्तिम दिन भोटो दाबी गर्न प्रमाणसहित आउन देखाउने गरिन्छ।
काठमाडौँ उपत्यकाकै सबै भन्दा लामो जात्राको रूपमा चिनिएको रातो मच्छिन्द्रनाथको रथ यात्रा पुलचोकबाट सुरु भएर पाटनका विभिन्न स्थानको परिक्रमा पछि जावलाखेल पुर्याएर भोटो देखाइएको हो।
भोटो हेर्न राष्ट्रपति पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसहित विशिष्ट व्यक्तिहरू र सर्वसाधारणहरूको उल्लेख्य उपस्थिति थियो। भोटो देखाएसँगै जात्रा सम्पन्न भएको छ।
जेठ १८, २०८२ आइतबार १८:२८:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।