अबको एक साता पानी नपर्ने, गर्मी हुने

काठमाडौँ : १५ दिन छिटो नेपाल प्रवेश गरेको मनसुन अब एक सातासम्म निष्क्रिय रहने भएको छ।
बिहीबार राति नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू-भागमा विस्तार भएको मनसुन एक सातासम्म निष्क्रिय हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले सोमबारदेखि कोशी प्रदेशमा फैलिएको मनसुन केही दिनका लागि निष्क्रिय हुँदा वर्षा कम हुने अनुमान रहेको बताए।
“नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहे पनि मे २९ मै नेपालको पूर्वी क्षेत्रबाट मनसुन भित्रिएको हो, बाँकी भू-भागमा मनसुन भित्रिन बाँकी छ। अब सात दिनसम्म मनसुन निष्क्रिय हुने देखिएको छ”, उनले भने, “मनसुन भित्रिएकै दिन पूर्वी क्षेत्रमा भएको भारी वर्षाका कारण असर पनि पुर्याएको छ।”
विभागका बाढीविद् विनोद पराजुलीले पूर्वी क्षेत्रमा मनसुन भित्रिएकै दिन २ सय मिलिमिटरभन्दा बढी पानी परेको जानकारी दिए। वर्षाका कारण नदीमा पानीको सतह बढ्दा बाढी आएकाले केही क्षेत्र डुबानमा परेको उनले बताए।
“विभागले मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ। जसमा चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना देखिएको छ”, उनले भने।
कर्णाली प्रदेशको पूर्वी भू-भाग, लुम्बिनी प्रदेशको उत्तरी भू-भाग र गण्डकी प्रदेशको अधिकांश भू-भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको महाशाखाको भनाइ छ।
पराजुलीका अनुसार विभागले जल तथा मौसम पूर्वानुमान, सतर्कता तथा चेतावनीसम्बन्धी पूर्व सूचनालाई थप व्यवस्थित, प्रभावकारी र समयमै सूचना सम्प्रेषण गर्ने उद्देश्यले मनसुन अवधिभर आमसञ्चार माध्यम तथा सरोकारवालालाई प्रत्यक्ष जानकारी गराउन सुरु गरिसकेको छ।
“विभागले कार्यालयमै हरेक दिन बिहान ११ बजे ‘ब्रिफिङ’ सुरु गरेको छ, ब्रिफिङमा मुलुकभरको जल तथा मौसमसम्बन्धी सूचना, पूर्वानुमान तथा चेतावनीबारे जानकारी गराउँदै आइएको छ”, उनले भने, “सबै आमसञ्चारका माध्यम, सरकारी तथा निजी सरोकारवाला निकाय, गैरसरकारी संस्था, उद्धार तथा राहतमा संलग्न निकायलाई विभागसँग प्रत्यक्ष संवाद गर्न र जल तथा मौसमजन्य सूचना प्रवाहमा सहजीकरण गरिएको छ।”
जेठ १८, २०८२ आइतबार १७:४२:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।