पोखरामा यातायात सिन्डिकेटको राज, राइड शेयरिङ विरुद्ध निरन्तर आन्दोलन

पोखरामा यातायात सिन्डिकेटको राज, राइड शेयरिङ विरुद्ध निरन्तर आन्दोलन

पोखरा : गण्डकी प्रदेश सरकारले राइड शेयरिङलाई कानुनी मान्यता दिएपछि यातायात व्यवसायीहरू आन्दोलित छन्। उनीहरूले जेठ १६ देखि १८ गतेसम्म गण्डकी प्रदेशका ११ वटै जिल्लामा सबै प्रकारका सार्वजनिक (कालो प्लेट) सवारी साधन बन्द गराए।

माग पूरा नभए जेठ १९ गतेदेखि देशव्यापी अनिश्चितकालीन यातायात हड्ताल गर्ने उनीहरूले चेतावनी दिइरहेका छन्। उनीहरूले पर्यटक बसलाई नेपाली यात्रु नबोक्न चेतावनी दिइरहेका छन्।

सार्वजनिक यातायात ठप्पहुँदा विशेषगरी बिरामी र विद्यार्थीहरू बढी प्रभावित भएका छन्। गण्डकी सरकारले आन्दोलनरत पक्षलाई आइतबार वार्तामा समेत बोलाएको छ।

पोखरामा ट्याक्सी र राइड शेयरिङको जुहारी

पोखरामा राइड शेयरिङ एप्स (इन्ड्राइभ, पठाओ) सँग ट्याक्सी व्यवसायीहरूको ठुलै दुस्मनी देखिन्छ। नगर बसका आफ्नै नियमित यात्रु भए पनि मिटर प्रयोग नगरी बोलीको आधारमा चर्को भाडा असुल्ने ट्याक्सी व्यवसायीको ठगीबाट आजित यात्रुहरू राइड शेयरिङतर्फ आकर्षित भए।

सहुलियत दरमा र सहजै मोटरसाइकल, स्कुटर र ट्याक्सी सेवा पाउने भएपछि अहिले राइड सेयरिङका प्रयोगकर्ताहरू बढिरहेका छन्।

बार्गेनिङ गर्न नपर्ने र चोकमा गएर ट्याक्सी खोज्नु पर्ने झन्झट नभएकाले यात्रुले एपमार्फत राइड सेयरिङको प्रयोग गरिरहेका छन्। आफ्नो व्यवसाय सुकाएको भन्दै रिसाएका पोखराका मुख्य चोकहरूमा ट्याक्सी चालक र राइडरहरूबीच पटक पटक कुटाकुटसमेत भएको थियो।

पोखरा नगरमा बस चलाउने पोखरा बस व्यवसाय समिति र  लामो रुटमा बस चलाउने पृथ्वी बस समितिको एकछत्र राज अझै पनि छ।

सरकारले २०७५ सालमा देशभर सिन्डिकेट अन्त्य गर्न २०७२ मा केही व्यवसायीले स्थानीय र लामो रुटमा पोखरामा बस सञ्चालन गर्न प्रयास गरेका थिए।

उसो त सर्वोच्च अदालतले २०६७ सालमा सिन्डिकेट खारेज गर्न सरकारलाई आदेश दिएको थियो। निकै ढिलो भए पनि सरकारले २०७५ वैशाख ४ गते देशभरका यातायात समितिहरू खारेज गरी नवीकरण नगर्ने र कम्पनीमा दर्ता गर्न आदेश दिएपछि सिन्डिकेट लागू गर्दै आएका यातायात समितिहरू प्राइभेट लिमिटेडमा जान बाध्य भएका थिए।

सिन्डिकेट अन्त्यमा बिन्धवासिनीको सफल प्रयास

पोखरामा २०७२ सालमा विन्ध्यवासिनी नगर बसले सिन्डिकेट अन्त्य गरेपछि यसको प्रभाव राजधानी र अन्यत्र पनि पर्न थाल्यो। त्यसपछि मयुर यातायातले राजधानीमै नगर बसको सिन्डिकेट तोड्न सफल भयो। क्रमिक रूपमा पठाओ, इनड्राइभ जस्ता राइड शेयरिङ एपहरू प्रयोगमा आउन थाले।

२०७२ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पोखरा नगर भित्र चलाउने गरी ’विन्ध्यवासिनी यातायात’लाई रुटको अनुमति दिएको थियो। यसको विरोध गर्दै गण्डकी–धौलागिरि सार्वजनिक यातायात समितिले पोखराको मूल सडकहरूमा छोटो र मध्य दूरीको बसदेखि नगर बस र ट्याक्सी तेर्साएर सडक अवरुद्ध गरेको थियो।

उनीहरू आफ्नो कार्यलाई सिन्डिकेट मान्न तयार नभए पनि बिना अध्ययन अनावश्यक रूपमा बस थपेर प्रदूषण गर्न खोजेको र पोखरामा बस धेरै भएको जस्ता तर्कहरू अगाडि सारेका थिए।

तर, पोखराकै भुक्तभोगी यात्रुहरू नै पोखरा नगर बस समितिको सिन्डिकेटबाट बढी प्रभावित थिए। नगर बसहरू ५ किलोमिटरभन्दा कम दूरीसम्म मात्र चल्ने र फेरि सोही समितिको अर्को बसबाट बाँकी गन्तव्य तय गर्न यात्रुहरू बाध्य थिए।

विद्यार्थीहरू छोटो दूरीमा पुगिने पृथ्वीनारायण क्याम्पस पुग्न कम्तीमा दुई वटा बस चढ्न बाध्य थिए। कुनै व्यक्तिले पर्यटकीय स्थल पातले छाँगो रहेको छोरेपाटनबाट लामाचौरसम्म ११ किलोमिटरको यात्रा गर्नुपर्दा ३ ठाउँमा एउटै समितिको ३ वटा बस फेर्न बाध्य हुन्थे। भाडा पनि चर्को थियो।

तर, २०७२ माघमा नयाँ आएको ́विन्ध्यवासिनी बस समिति’ ले एकै दिन एकसाथ ३ वटा नीलो रङका बस छोरेपाटनबाट सिधै लामाचौर पुग्ने रुटमा गुडाएर ’पोखरा नगर बस समिति’ को हरिया रङ भएका बसको सिन्डिकेट तोड्यो। तर, गुडाएकै दिन बसहरू तोडफोड गरियो। गुन्डा परिचालन गरी बसभित्र पसेर चालकलाई धम्की दिइयो। तर, जिल्ला प्रशासन कार्यालयले प्रहरीको सहयोग लिएर सिसा फुटालिएका र तोडफोड गरिएका बसलाई लगातार ३ दिन चलाएरै छोड्यो।

तीनवटा बस चलाएको दुई महिनापछि उसले थप ३० वटा बसलाई ’पोखरा नगर बस समिति’ को रुटमा चलाउन थाल्यो र बल्ल पोखरेली यातायातमा प्रतिस्पर्धाको युग सुरु भयो।

२२–२५ सिट क्षमताका २ सय बढी नगर बस चलाइरहेको समितिले विन्ध्यवासिनीसँग प्रतिस्पर्धा गर्न ३४ सिट क्षमताका लक्जरी नगर बस विभिन्न रुटहरूमा हाल्यो। पहिला रुटमा बस हाल्दा १० लाखसम्म समितिलाई बुझाउनुपर्नेमा प्रतिस्पर्धाको कारण ५ लाखभित्रै नयाँ बस हाल्न सकिने भयो।

यात्रुले लामो समयसम्म बस कुर्दै पटक पटक छोटो दूरीमै एउटै समितिको बस फेर्नुपर्ने अवस्थाको अन्त्य मात्र भएन, लामो रुटको सिधा भाडा पनि सस्तो हुँदै गयो।

तर, विन्ध्यवासिनी बस समिति’ ४ वर्ष मात्र टिक्यो। उसका केही नीला बसहरू सस्तो मूल्यमा निजी विद्यालयलाई बेचियो भने बाँकी बसलाई हरियो रङ लगाएर ’पोखरा नगर बस’मा मर्ज गरियो।

अहिले पोखरामा पुरानै नगर बस कम्पनी र ट्याक्सी कम्पनीका भ्यानहरूले सेवा दिइरहेका छन् भने साबिकको लेखनाथ नगरपालिका (हाल पोखरा महानगर) को बेगनास तालदेखि बागलुङ बसपार्कसम्म बेगनास ताल समितिको बस पहिलेझैँ गुडिरहेका छन्।

उज्यालो यातायातको असफल प्रयास

देशकै पुरानो बस समिति ‘पृथ्वी राजमार्ग बस व्यवसायी’ रहेको पोखरामा २०७३ साल वैशाखमा पूर्वी नेपालको बस समिति ‘उज्यालो यातायात’ ले पोखरामा कार्यालय सञ्चालन गरी पोखराबाट देशका १२ ठाउँमा बस सञ्चालन गर्ने गरी बस ल्याएको थियो।

तर, बस सञ्चालन नहुँदै दुवै समितिका व्यवसायीबीच झडप भएको थियो। पृथ्वीको अगाडि उज्यालोको केही लागेन। उ पोखरा छोडेर पूर्व फर्किन बाध्य भयो।

त्यसयता बरु पोखरा र अन्य शहरका बस समितिले आलोपालो गरी बस गुडाएका छन् तर दुवै आतेजाते रुटमा अलग्गै कम्पनीले पोखरामा कार्यालय खोली बस गुडाउन सकेका छैनन्।

केबल पोखरा–काठमाडौं रुटमा कसैको अवरोध छैन। जोसुकैले सजिलै कालो प्लेट वा हरियो प्लेट राखी बस सञ्चालन गरिरहेका छन्। 

जेठ १८, २०८२ आइतबार १७:२९:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।