सरकारको कुशासनले राजावादीले मौका पाएको प्रचण्डको दाबी

सरकारको कुशासनले राजावादीले मौका पाएको प्रचण्डको दाबी

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राजावादी आन्दोलनको कारण वर्तमान सरकारलाई दोष दिएका छन्।

आइतबार काठमाडौंमा आयोजित माओवादी केन्द्रको भातृ संगठन यङ कम्युनिस्ट लिग (वाइसिएल) तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले सरकारको कुशासनका कारण संविधान र गणतन्त्रका लागि खतरा बनेको दाबी गरे।

‘संविधानको रक्षाको पक्षमा उभिनेहरूसँग कार्यगत एकता वा तालमेल हुनसक्छ। तर, प्रतिगमनको नाममा भ्रष्टाचारलाई संरक्षण गर्ने र इमानदारमाथि कारबाही गर्ने कार्यहरूलाई समर्थन गर्न सकिन्न,’ उनले भने ‘तर अहिले प्रतिगमनले जसरी टाउको उठाएको छ त्यो गणतन्त्र समर्थन गरिदिएको भरमा भ्रष्टाचारीलाई बचाउने, कुशासन कायम गर्ने, इमानदारहरूलाई कारबाही गर्ने सरकारबाट भएको छ।’

अहिलेको सरकार र त्यसको नेतृत्ववालाहरुले यथास्थितिवादी धारको प्रतिनिधित्व गरेको उनको दाबी थियो।

उनीहरूले परिवर्तन र प्रगतिको पक्षमा नभई जनताले पाएको अधिकारलाई पनि खोस्ने लाइनमा रहेको आरोप समेत लगाए।

प्रचण्डले संविधानको रक्षालाई माओवादी केन्द्रको प्रमुख प्राथमिकता भएको र वर्तमान सरकार यथास्थितिवादी धाराको प्रतिनिधि बनेको दाबी गरे।

हालको सरकारप्रति आफ्नो पार्टीले निरन्तर खबरदारी गर्दै आएको र भ्रष्टाचारविरुद्धको अभियान चलाइरहेको समेत दाबी गरे।

‘एकातिर सरकारलाई निरन्तर खबरदारी गरिराखेका छौँ भने अर्को भ्रष्टाचार विरोधी अभियान थालेका छौँ। हामीले केही राम्रा रेकर्ड बनाएकै छौँ’ उनले भने।

जेठ १८, २०८२ आइतबार १६:५८:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।