‘जन्ते बाख्रो’ले मेटाउला त गरिमाको ‘फ्लप डेब्यु’को रेकर्ड ?

काठमाडौं : टिकटक र म्युजिक भिडियोबाट चर्चा कमाएकी मोडल गरिमा शर्माले फिल्म ‘लण्डन टु पेरिस’मार्फत डेब्यु गर्दा धेरै अपेक्षा राखेकी थिइन्। तर, पहिलो फिल्ममै धोका खाँदा उनलाई तनाव झेल्नु पर्यो। यदि त्यो फिल्म चलेको भए, अहिले उनलाई फिल्म अफरको लहर लाग्ने थियो होला।
तर, गरिमा अब ठूलो पर्दामा ‘कमब्याक’ गर्दैछिन्। उनको दोस्रो फिल्म ‘जन्ते बाख्रो’ यहि शुक्रबारबाट रिलिज हुँदैछ। अहिले उनी फिल्मको प्रचारप्रसारमा निकै सक्रिय छिन्। निर्माण टिमले पनि फिल्म प्रचारमा कुनै कसर बाँकी राखेको छैन। शनिबार सामाखुसीस्थित सिटी स्क्वायर मल अगाडि फिल्मको ‘जन्ते बाख्रो साँझ’ शीर्षकमा भव्य सांगीतिक कार्यक्रमको आयोजना गरियो।
कार्यक्रममा गरिमालाई बेहुली झै बग्गी चढाएर झलमल पार्दै मलसम्म पुर्याइयो। साथमा थिए टिसर्ट लगाएका जन्ते बाख्राका पोस्टरधारी, बोकाको टाउको लगाएका कलाकार र पन्चे बाजा। त्यहाँको महोल हेर्दा लाग्थ्यो ‘कसैको बिहे हुँदैछ’।
स्टेजमा पुगेपछि फिल्मका गायक–गायिका बाबुल गिरी, महेश काफ्ले र अस्मिता अधिकारीले ‘घामै राजा’, ‘अङ्गुरको झुप्पो’ र ‘मुकु मुकु म्या’जस्ता गीत प्रस्तुत गर्दै दर्शकलाई झुमाए।
यसअघि त्यही ठाउँमा प्रकाश सपुतको ‘वसन्त’को प्रचार पनि यस्तै शैलीमा भएको थियो। तर दर्शक हलमा तानिएनन्, फिल्म फ्लप भयो। ‘जन्ते बाख्रो’ले पनि त्यस्तै नियति भोग्छ वा हिट हुन्छ। त्यो त समयले बताउँला। तर यो चाहिँ पक्का हो की गरिमाले ‘लण्डन टु पेरिस’को फ्लपबाट पाएको घाउ मेट्न यसपालि निकै मिहिनेत गरेकी छन्। ‘जन्ते बाख्रो’ले उनको करिअर उचाइमा पुर्याउँछ कि फेरि तनाव थप्छ? शुक्रबार पर्खनुको विकल्प छैन।
जेठ १८, २०८२ आइतबार १४:५५:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।