रौतहट विस्फोटका दुई घाइते : एकले अदालतमा बयान बदले, अर्को अपहरणमा पर्दा नि अडिग रहे

काठमाडौं : शेख सफि अहमद अनि गौरी शंकर राम चमार। यी दुवै २०६४ चैत २७ मा राजपुर फरहदवामा भएको बम विस्फोटका घाइते हुन्। जनकपुर उच्च अदालतको वीरगन्जस्थित अस्थायी इजलासले बम विस्फोट भएको पुष्टि नभएको भन्दै मोहम्मद आफताव आलमसहित चार जनालाई सफाइ दियो।
त्रिलोकप्रकाश सिंह र ओसी अख्तरको शवै गायब बनाइयो। तर यी दुई घाइते भने बमले बनाएको चोटको खत बोकेर बसिरहेका छन्।
दुवै घाइतेले प्रारम्भमा प्रहरी बयानमा बम विस्फोट कसरी भयो अनि आफू कसरी घाइते भएँ भनेर सविस्तार बयान दिएका थिए। अदालत पुग्दा सेख सफी अहमदले बयान बदले। तर, गौरी शंकर राम चमारले भने प्रहरीलाई जे बयान दिएका थिए अदालतमा पनि त्यही बयान दिए।
पछि चमारको अपहरण भएको थियो। उनलाई अपहरण गरेर आलमको घरमा १० दिन बन्धक बनाएर राखिएको थियो। उनलाई बम पड्किदा घाइते भएको नभई स्टोभ पड्कँदा घाइते भएको भनेर बयान बदल्न दबाब दिइएको थियो। पछि प्रहरीले उनको उद्धार गरेको थियो।
तर, जनकपुर उच्च अदालतको वीरगन्जस्थित अस्थायी इजलासले घाइतेको बयान, घाउको प्रकृतिको आधारमा सो विस्फोटबाट भएको भन्ने विज्ञ चिकित्सकको प्रतिवेदन लगायतलाई बेवास्ता गर्दै बम पड्किएकै प्रमाणित हुन नसकेको भन्दै विवादित फैसला गर्यो।
शेख सफिको प्रहरी बयान : बमको छर्रा लागेपछि चार महिना उपचार गरेँ
भारत विहार बस्ने शेख मसिरले नेपालबाट गाई गोरु किनेर मलाई भारतसम्म पुऱ्याउन ज्याला दिने गरेका थिए। २०६४ चैत २७ मा ६ वटा गोरु खरिद गरी गोरु धपाउँदै अन्दाजी ६:३० बजे राजपुर फरहदवा शेख ईद्रिसको घर नजिकै आइपुग्दा अचानक बम विस्फोट भयो।
बमको टुक्रा छर्रा लागि म घाइते भएँ। पेटमा गम्छाले बाँधेर त्यो ठाउँबाट ६ सय मिटर पर साहु शेख मसिरसँग भेटभई उनले मोटरसाइकलमा राखेर उपचारको लागी भारत मोतिहारीको डा. प्रवेज र तवरेज आलमको क्लिनिकमा लगे। त्यहाँ उपचार गराउँदा १९ दिन पछि म होसमा आएको थिएँ। अस्पतालमा करिब ४ महिना जति उपचार गराएको थिए।
मोहम्मद आफताब आलमले संविधान सभाको निर्वाचन जित्न लागी शेख ईद्रिसको घरमा बम स्टोर गरी बम बनाउन लाग्दा बम विस्फोटन भएको थियो। विस्फोटनमा परी २ जना मानिसको मृत्यु भएको र ओसी अख्तर मियाँ र पिन्टु सिंह समेतका १५-१६ जना मानिसहरू घाइते भएका थिए।
घाइतेहरूलाई मोहम्मद आफताब आलम, मोहम्मद महताब आलम, शेख सेराज भन्ने शेष सराज, शेख मोबिन आलम, शेख भदई समेतका मानिसहरूले मृतक तथा घाइतेहरूलाई जुटको बोरामा हालेर ट्याक्टरमा लोड गरी नजिकको राजा इट्टा उद्योगमा लगी जिउँदै जलाएको थाहा पाएँ।
लामो समयसम्म प्रहरी समक्ष उजुरी दिने सोच बनाएकोमा मेरो तथा परिवारको जिउँ ज्यानको खतरा महसुस गरी उजुरी गर्न सकिन।
अदालतमा भने ‘बमको चोट हैन, पत्थरीको अप्रेसन’
म भारत पन्जाबमा काम गर्न गएकोमा म त्यहीँ थिएँ। पन्जाबमा खेतीपाती, घाँस भुस्सा खुवाउने काम गर्थेँ। मेरो घर नेपालको सर्लाही जिल्ला गोडैता नगरपालिका वडा नम्बर २ मा रहेको छ।
मलाई पत्थरी भएर त्यसको अप्रेसन गरेको खत रहेको छ। मिठाई पकाउँदा पोखिएर पेटमा लागेको घाउँको खत रहेको छ। त्यो बाहेक अरू कुनै त्यस्तो खत छैन। खुट्टामा सामान्य काटेको खतहरू रहेको छ।
मलाई प्रहरीले आफ्नो घरबाट पक्राउ गरी मलंगवा थानामा आधा घण्टा राखी त्यहाँबाट चन्द्रनिगाहपुर थानामा लिएर राखेको र त्यहाँ प्रहरीले कुटपिट गरेको हो। त्यहाँ समसुलले पैसा दिन्छु भनेर आफ्नो ब्यहोरा लेख्न लगाएको थियो।
उसले आफ्नो ब्यहोरा लेखेर मलाई केही हुँदैन भनेर सही छाप गर्न डर धम्की समेत देखाई बाध्य बनाई प्रहरीले लेखेको जाहेरीमा मलाई सहिछाप गर्न लगाएको हो। सो जाहेरीको ब्यहोरा मेरो होइन। सहीछापसम्म मेरो हो।
गौरी शंकरको प्रहरी बयान ‘विस्फोटले मेरो दुवै कान चुँडियो'
२०६४ चैत २७ बेलुकी अन्दाजी ६:३० बजेको समयमा राजपुर फरहदवा शेख ईद्रिशको गाई बस्तु बाँध्ने गोठघर अगाडी आई पुग्दा धेरै मानिसहरू थिए. गोठको ढोका खुल्ला थियो। गोठघर भित्र १५-१६ जना मानिसहरू बसेका थिए।
अचानक बम विस्फोट भएर ठुलो धमाका आयो। बमको टुक्रा, छर्राहरूले मेरो दुवै कान, घाँटी, छाती समेतमा गम्भीर चोट लाग्यो। रगत बग्यो। विस्फोटनमा परेर २-३ जना मानिसको मृत्यु भएको र धेरै जना मानिसहरू घाइते भएर जोडले रुँदै कराउँदै गरेको देखेको हुँ।
बम विस्फोटनबाट मेरो दुवै कान चुँडिएको थियो। घाँटी र छाती समेतमा बमको छर्रा लागी म घाइते भएपछि आफू बच्न सो ठाउँबाट करिब ७ सय मिटरसम्मको दूरीमा दक्षिण आएपछि म पूर्णरुपले बेहोस भई भुईँ जमिनमा लडेँ।
१५-२० दिनपछि होसमा आउँदा म भारत बिहार राज्यको जिल्ला सितामढी, सितामढी स्थित सदर अस्पतालमा बेड भर्ना भएको रहेछु। पिसाब नलीमा, नाकमा, मलद्वार समेतमा पाइप लगाएको र मेरो अनुहारको भागमा, घाँटीमा, छाती समेतमा पट्टी बाँधेको अवस्थामा थिएँ।
म सँगै मेरी आमा मरनी देवी रहेकी थिइन्। मलाई यहाँ को कसले उपचारको लागि ल्याएको भनेर सोध्दा आमाले बच्चा रामको ससुरा बद्री रामले ल्याएको भन्नुभयो। सोही अस्पतालमा म सँगै इट्टा उद्योगमा काम गर्ने मेरै गाउँको नरेश राम, बिकाऊ राम समेत अस्पतालमा उपचार गराउँदै गरेको देखेको हुँ। उनीहरूसँग बुझ्दा हामी पनि सोही बम विस्फोटनमा परी घाइते भएका हौँ भनेका थिए।
अदालतमा भने ‘पैसा माग्न जाँदा विस्फोटमा परेँ’
म राजा इट्टा उद्योगमा भट्टामा काम गर्दथे। प्रत्येक हप्ता काम गरेको पैसा माग्दथ्यौ। चुनावको एक दिन अगाडी इट्टा भट्टामा काम गर्ने मुन्सीसँग पैसा माग्दा पैसा दिन गाह्रो छ, माननीयज्यू चुनावमा व्यस्त हुनुहुन्छ भने।
पैसा माग्न माननीय आफताब आलमको घरमा जाँदा त्यहाँ भएको गाई गोठको घरमा एक दर्जन भन्दा बढी मानिसहरू भेला भएका थिए। म त्यहाँ गएको ४-५ मिनेट पछि ठुलो आवाज आउने गरी बम विस्फोट भयो।
त्यो विस्फोटको छर्राले मेरो कान, छाती समेतमा आगो लाग्यो। म ६००/७०० मिटर टाढा भागेर गई बेहोस अवस्थामा लडेँ। मेरो खल्तीबाट बिस्तारै डायरी निकाली मेरो डायरीको नम्बरमा फोन गरी मेरो भाइको ससुरा आई मलाई भारत सितामढीको अस्पतालमा लगे।
२०-२२ दिनपछि होस आउँदा म हस्पिटलमा रहेको कुरा थाहा भयो। आफताब आलमले मेरो बाबुले पैसा माग्न जाँदा नदिएको र गाली गलौच गरी फिर्ता पठाइदिएको कारणले गर्दा सो समयमा जाहेरी दिन सकिन। अहिले जाहेरी दिएको हुँ।
सम्बन्धित समाचार
जेठ १८, २०८२ आइतबार १४:२०:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।