‘आलम छुट्यो, अब केही न केही त पक्कै गर्छ’

काठमाडौं : ‘आलम छुट्यो। अब केही न केही त पक्कै गर्छ’- यो डर राजपुर बमकाण्डमा मारिएका त्रिलोक प्रताप सिंह (पिन्टु) का बुबा श्रीनारायणसिंह राजपुतको हो। उनी मात्र होइन राजपुर बमकाण्डका पीडितहरू अहिले यस्तै त्रासमा छन्। कारण हो- २०६४ सालको त्यो बम बिस्फोटमा जन्मकैद पाएका पूर्वमन्त्री मोहम्मद अफताब आलम थुनामुक्त हुनु।
जनकपुर उच्च अदालतले ‘बम बिस्फोट नै भएन’ भन्ने आधारमा दोषीहरूलाई छुटाएपछि पीडित परिवारमा तनाव बढेको छ।
रौतहटको राजपुर नगरपालिका-४ मा २०६४ साल चैत २७ गते भएको चर्चित बम बिस्फोट घटनामा जन्मकैद सजाय पाएर छुटेका पूर्वमन्त्री मोहम्मद अफताब आलमसहित चारजना जेठ १४ गते रिहा भएका थिए। जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगञ्जले ‘राजपुरमा बम विस्फोट नभएको’ ठहर गर्दै दोषी ठहर गरिएकालाई निर्दोष घोषणा गरेको थियो।
चैत २७ को घटनामा कति मारिए निश्चित छैन। तर ओसी अख्तर र पिन्टु भनिने त्रिलोक प्रताप सिंह राजपुत बम विष्फोटमा घाइते भएका थिए। दुई जनालाई जिउँदै इट्टा भट्टामा पोलिएको थियो। उनीहरूका परिवारले दिएको जाहेरीकै आधारमा अफताब आलमसहित चारजनालाई जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैद सजाय सुनाएको थियो। तर अहिले उच्च अदालतको फैसलाले जेलमुक्त भए।
उकेरासँगको कुराकानीमा त्रिलोकका बुबा श्रीनारायणसिंह राजपुतले भने, ‘अहिले आलम छुटेको छ। हामीले न्याय पाएनौँ। जब सम्म सास रहन्छ अदालत जान्छौँ। अहिले आलम चुप बसेको भएपनि केही न केही गर्छ नै। हाम्रो ज्यान खतरामा छ।’
यो घटना भएको तीन वर्षपछि, २०६७ साल माघ ८ गते ओसी अख्तरकी आमा रुक्साना खातुनको हत्याले परिवारमा थप पीडा थपेको छ। माइतीबाट फर्किँदै गर्दा उनलाई हतियारधारी समूहले गोली हानेर हत्या गरेको थियो।
राजपुतका अनुसार, त्यो हत्या पनि सुनियोजित थियो र त्यसमा राजनीतिक पहुँच भएका व्यक्तिहरूको संलग्नता थियो। ‘रुक्साना आफैं एक सचेत, राजनीतिक रुपमा जानकार महिला थिइन्। उनलाई पटक-पटक धम्की आइरहेको थियो। अहिले पनि मलाई धम्की आइरहेका छन्। लेनदेन गर्न भनिन्छ, नमाने ज्यान जान्छ भन्ने सुनिन्छ। यस्तो अवस्थामा हामी कता जाने?’ उनले भने।
जेठ १८, २०८२ आइतबार १४:१३:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।