बेष्ट फाइनान्स एनपीएस, एनसीएस र नेपाल पे कार्डमा आबद्ध

काठमाडौं : बेष्ट फाइनान्स कम्पनी लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बीच ‘एनपीएस–नेशनल कार्ड स्विच’ र ‘डोमेस्टिक कार्ड स्किम’ अर्थात् नेपाल पे कार्ड का लागि प्रिन्सिपल मेम्बर सम्बन्धी सम्झौता भएको छ।
शुक्रबार सम्पन्न कार्यक्रममा बेष्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मानसिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
एनसीएचएलले हालै एनपीएस–एनसीएसको पूर्वाधार तयार भइसकेको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई नेपालकै स्वदेशी कार्ड स्किम ‘नेपालपे कार्ड’ जारी र स्वीकृति दिने प्रक्रिया सुरु गर्न आह्वान गरेको थियो।
अब व्यावसायिक रुपमा नेपाल पे पूर्वाधार सञ्चालनमा आएपछि बेष्ट फाइनान्सले आफ्ना ग्राहकलाई नेपाल पे कार्ड जारी गर्न र प्रयोग गराउन सक्नेछ।
एनपीएस–एनसीएस एकीकृत राष्ट्रिय कार्ड भुक्तानी प्रणाली हो जसले स्वदेशी कार्ड कारोबारलाई मार्गनिर्देशन, निपटान र डेटा स्थानीयकरण गर्न सहयोग पुर्याउने उद्देश्य राखेको छ। यसले अन्तर्राष्ट्रिय कार्ड स्किमप्रतिको निर्भरता घटाउने र डिजिटल प्रणालीमा नवप्रवर्तन गर्न मद्दत गर्ने विश्वास गरिएको छ।
एनसीएचएलले हाल ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्था, अधिकांश भुक्तानी सेवा प्रदायक र १०० भन्दा बढी अप्रत्यक्ष तथा प्राविधिक सदस्यलाई समेटेर राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालन गरिरहेको छ। एनपीएस–एनसीएस र नेपालपेको कार्यान्वयनले नेपालको कार्ड प्रणालीलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
बेष्ट फाइनान्सले हाल १८ शाखा र ३ एटीएममार्फत आफ्ना आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ।
जेठ १८, २०८२ आइतबार १३:१०:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।