लगानीकर्ता खोज्न निर्देशकको फण्डा : कलाकारलाई थाहै नदिइ अनुबन्धनको हल्ला!

काठमाडौं : चर्चित कलाकारहरूको नाम समाचारमा आउँछ, फिल्ममा अनुबन्धित भन्दै प्रचार गरिन्छ। फिल्म बनाउने तयारीमा भन्दै हल्ला फैलाइन्छ। तर ती कलाकारले आफैंलाई फिल्ममा अनुबन्ध गरिएको थाहा नै पाएका हुँदैनन्। नेपाली फिल्म उद्योगमा पछिल्लो समय कलाकारको कामको दुरुपयोगको गर्ने यो फण्डा बढ्दै गएको छ। यस्ता घटनाबाट कलाकार हैरान छन्, तर सम्बन्ध बिग्रने डरले खुलेर बोल्दैनन्।
कलाकार प्रदीप खड्का, बिजय बराल, केकी अधिकारीदेखि विल्सन बिक्रम राईसम्म यो प्रवृत्तिको मारमा परेका देखिए। उनीहरु उकेरासँग यसबारे बोल्न राजी भए।
अभिनेता प्रदीप खड्का आफैँलाई थाहा नदिई फिल्ममा अनुबन्ध भएको खबर सुन्दा अचम्म लागेको अनुभव सुनाउँछन्। पक्कापक्की नै नभई खेलिहाल्छन् नि भन्ने हिसाबले नामै तोकेर सार्वजनिक घटना हुने गरेको उनले बताए।
‘गसिपका हिसाबले धेरै नै आइरहेका हुन्छन्। तर आधिकारिक रुपमा फिल्ममा काम गर्ने नगर्ने केही पनि हुँदैन। कहिलेकाँही निर्माता निर्देशकसँग एक दुई पटक भेट भएको आधारमा फिल्ममा खेलिहाल्छ नि भन्ने हिसाबले नाम राख्नुहुन्छ क्या र? यस्ता धेरै कुराहरू बाहिर आएका छन्,’ प्रदीपले भने।
प्रदीपको भनाइमा केही निर्देशक र निर्माता कलाकारको नाम प्रचारमा राखेर लगानीकर्ता खोज्ने काममा लाग्छन्। नाम राख्यो भने फिल्मका लागि लगानीकर्ता आइहाल्छ भन्ने कन्फिडेन्ट या नाम चलेको कलाकारको नाम राखेपछि फिल्म निर्माण गर्छु भन्नेहरु लगानीकर्ता खोज्न थाल्ने गरेको उनको अनुभव छ।
‘गसिप जसरी समाचार आउँदा त्यति असर नपर्ला। इन्भेष्ट गर्नका लागि कसैलाई झुक्याउन न्युज आयो भने असर पर्न सक्छ,' प्रदीपले भने 'जो लगानीकर्ता हो त्यो झुक्किन सक्छन्, फस्न सक्छन्। आफूले राम्रो प्रोजेक्ट पाउन लागेको छ भने पनि उम्किन सक्छ। उम्केको पनि होला।’
अभिनेता विजय बरालले पनि यस्तो समस्या भोगेका छन्। फलाना फिल्ममा विजय बराल अनुबन्धित भनेर समाचार आउँदा आफूलाई थाहै नहुने उनले सुनाए।
'आफूले त्यो फिल्ममा खेल्छु भनेर कुनै कुराकानी भएको नै हुँदैन थियो। समाचारमा भने आउँथ्यो’ उनले भने।
अभिनेत्री केकी अधिकारी पनि यस्तै फन्दामा परेकी छन्। कसैले एउटा काम गर्नुपर्छ है भनेको भरमा केकी अनुबन्धित भनेर धेरैमा समाचार आएको उनको अनुभव छ।
‘मौखिक रुपमा एक दुई पटक कुराकानी भएको हुन्छ। कसैले चाहिँ एउटा काम गर्नुपर्छ है भनेको भरमा केकी अनुबन्धित भनेर धेरैमा आएको थिए,' उनले अनुभव सुनाइन् 'उहाँहरू फलाना महिनामा के छ कसो छ भनेर सोध्नुहुन्छ। त्यो समयमा त्यस्तो केही छैन मिलाउला नि भन्ने कुरा गरेको मात्र हुन्छ, बेलुकातिर समाचार आइसकेको हुन्छ।’
केकी यस्ता समाचार र बाहिरी हल्लाले धेरै राम्रो प्रोजेक्टहरू गुमाएको बताउँछिन्। पत्रकारहरूले पनि तथ्य पुष्टि नगरी समाचार लेख्ने गरेको भन्दै केकीले गुनासो पोखिन।
‘कुनै फिल्ममा अनुबन्ध नहुन्जेलसम्म धेरै निर्माता निर्देशकहरूसँग कुराकानी गरिरहेका हुन्छौँ। तर फलानामा अनुबन्धित भनेर आउँदाखेरि त्यो बाटो बन्द हुन सक्छ। ए, यो महिनामा यसको यो काम रहेछ। व्यस्त भइसकेको रहेछ, अर्कोलाई राखौँ भनेर उहाँहरूले निर्णय गर्दा मेरो हातमा आउन लागेको राम्रो काम पनि गुमेको अनुभव छ,’ उनले भनिन्।
फिल्म निर्माण भइसकेपछि निर्माता वा निर्देशकले तिमीलाई राख्न खोजेको थिए। तिमी अर्को फिल्ममा काम गर्न लागेकोले जस्ता कुरा गर्दै आफूलाई बाहिर राखिने अवस्था आएको केकी बताउँछिन्।
उनले थपिन्, ‘फिल्म बनेर आइसकेपछि या बन्दै गरेको खण्डमा कुराकानी हुँदा मैले तिमीलाई यो क्यारेक्टरमा सोचेको थिए। यो यो फिल्म गर्दैछौं भन्ने समाचारमा आएपछि तिमीले भ्याउँदैनौँ होला भनेर हामीले कुरै गरेनौँ भन्नु भएको छ। सायद निर्माता निर्देशकले त्यसरी समाचार बाहिर ल्याउँदा फलना फलना नामको फिल्म गर्दै छु। त्यसमा केकी अधिकारी, या अरु कोही राखेको छु भन्नका लागि पनि होला।’
हास्यकलाकार वेल्सन बिक्रम राई, जसलाई ‘तक्मे बुढा’ भनेर चिनिन्छ, उनी पनि पटकपटक यस्ता घटनाको सिकार भएका छन्। उनले पनि आफूलाई जानकारी नै नगराएर फिल्ममा नाम राखेका धेरै घटना रहेको सुनाए।
‘आफूसँग कुरा आइपुगेको हुँदैन। म भनिहाल्छु नि भनेर चिनेजानेका साथीहरुले भन्दा रहेछन्। जस्तो कि ए, मेरो गाउँले हो तक्मे त, म मिलाइहाल्छु नि भनेर फिल्ममा नाम चाहिँ हाल्दिदा रहेछन्। यस बारेमा आफूलाई थाहै हुँदैन। पछि फिल्म बनेर आइपुगेपछि तपाई त त्यो फिल्मबाट निस्किनु भएछ भन्छन्। कुरै भएको छैन, खेलेकै छैन कहाँ निस्किनु। यस्तो घटना धेरै फिल्ममा भएको छ। यसमा मात्रै भएको छ भनुँम् भन्ने नै छैन,’उनले भने।
के भन्छन् निर्माता ?
निर्माता तथा अभिनेता रबिन्द्र सिंह बनियाँ निर्देशक तथा लेखकलाई प्रोड्युसर खोज्न सहज हुने भएकाले यसो हुने गरेको बताउँछन्।
‘फलाना कलाकार छ भनेपछि प्रोड्युसरहरू खोज्न, विदेशमा भएकाहरूसँग पैसा हाल्देउ न भन्न सजिलो हुने अनि फलाना कलाकार आइसक्नुभएको छ भनेर को-प्रड्युसर खोज्न यसो गरिने रहेछ,’ उनले थपे, ‘कहिलेकाँही काम गर्ने- नगर्ने भनेर मौखिक रुपमा कुराकानी हुँदा नै अनुबन्ध भनेर हल्ला चलाउने र पछि समय मिलेन भनेर फेर्ने गरेको पाइन्छ। अर्को कुरा फिल्म क्षेत्र नै सानो छ। तपाई मेरो फिल्ममा हुनुहुन्छ है, कुराकानी यहीँ भयो है भन्ने पनि होला। धेरै कुरा छ। अर्को कुरा डिजिटल कपिराइट बेच्नका लागि पनि यस्ता कुराहरू आउँछन्।’
अर्का निर्माता तथा निर्माता संघको सदस्य शेखर लामाले कतिपय निर्माताहरूलाई कुन फिल्ममा कसरी लगानी गर्ने भन्ने नै थाहा नहुने बताउँछन्। उनले यसरी हल्ला फैलाउने कतिपय घटनामा पत्रकारको हात हुने बताए। ‘यसमा केही पत्रकारहरूको नै हात हुन्छ। पत्रकारहरूले नै फिल्म बनाउन आइडिया दिन्छन्। उनीहरुले नै यो फिल्म यसरी बनायो भने हलमा चल्छ, यसो गरेर बनायो भने चल्दैन भनेर उकास्छन्।’
लामाले थपे, ‘पहिलेबाट नै फिल्मको चर्चा गरेपछि विदेशी कपिराइट बिक्री हुन्छ भनेर यसो गर्छन्। चर्चा जति चुलियो, विदेशमा फिल्म प्रदर्शन गर्न सकिन्छ र यताको डिजिटल राइटस् पनि बेच्न सहज हुन्छ भनेर नै हो। यसो गर्नका लागि हल्ला मच्चाउने पनि ठेकेदारी पत्रकारहरूको काम नै हो। नत्र त कलाकारलाई नै थाहा नभई, आधिकारिक नभई कसरी फिल्ममा अनुबन्धित भनेर समाचार बन्छ र ?’ निर्माता लामा आफैं पनि यस्तो फण्डामा परेको बताउँछन्।
जेठ १८, २०८२ आइतबार १२:३९:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।