भीषण वर्षाले उदयपुरका ग्रामीण सडक ठप्प

गाईघाट : लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले उदयपुर जिल्लाको पहाडी भेगका अधिकांश ग्रामीण सडकहरू अवरुद्ध भएका छन्।
सदरमुकाम गाईघाटबाट रौता-सल्ले, रौता-भुटारजस्ता प्रमुख ग्रामीण सडकहरू पहिरोले अवरुद्ध भएको रौता सल्लेका स्थानीय विष्णु पाठकले जानकारी दिए। उनका अनुसार कतिपय ठाउँमा सडक भत्किएका छन् भने कतै सिधै पहिरोले पुरिएका छन्।
त्यस्तै, रौता-नामन्त, रौता-आँपटार, नामेटार-ओख्रेनी, रामेटार-भदौरे र पाँबु क्षेत्रका सडकहरू पनि सञ्चालनमा आउन नसकेको स्थानीय डिल्लीराम मगरले बताए। रौता-मुर्कुची हुँदै डिल्लीबर-माझखर्क जाने सडक विभिन्न स्थानमा बगाएको र कयौं ठाउँमा सडक छेउ भासिएको उनले बताए।
माझखर्कका जम्बु शेर्पाका अनुसार, खाल्डाखुल्डी र पहिरोले पुरिएका सडकका कारण अहिले मोटरसाइकलसमेत चल्न नसक्ने अवस्था छ। मुर्कुची-डिल्लीबर-माझखर्क हुँदै लिम्चुङबुङको बासबोटे बराह जाने सडक पूर्णरूपमा अवरुद्ध छ।
यस्तै, उदयपुरगढी गाउँपालिकाको भलायाडाँडा-बर्रे, डुम्रे-उदयपुरगढी सडक पनि भत्किएका कारण आवागमन रोकिएको डुम्रेका गङ्गा मगरले जानकारी दिए।
बेलका नगरपालिका-८ स्थित कोठुबाट मैनामैनी जोड्ने सडकसमेत अवरुद्ध भएको छ। शनिबारको भारी वर्षाले जिल्लाका चारवटै पहाडी गाउँपालिकाका सडक अवरुद्ध बनाएको स्थानीयले बताएका छन्।
अहिलेसम्म कुनै पनि सडक सञ्चालनमा आउन सकेका छैनन् भने क्षतिको यकिन विवरण आउन बाँकी छ।
जेठ १८, २०८२ आइतबार ११:५२:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।