जेठ १५ को आन्दोलनले रोकिएको ‘महाभोज’ को रिलिज डेट १५ दिनपछि धकेलियो

जेठ १५ को आन्दोलनले रोकिएको ‘महाभोज’ को रिलिज डेट १५ दिनपछि धकेलियो

काठमाडौं : जेठ १५ गते प्रदर्शनको तयारीमा रहे पनि राजावादी र एमालेको आन्दोलनको प्रभावमा परेर स्थगित भएको फिल्म ‘महाभोज’ ले नयाँ  प्रदर्शनमा मिति तोकेको छ।

निर्माण टिमले शनिबार नयाँ मिति सार्वजनिक गर्दै ‘महाभोज’  अब जेठ ३० गते रिलिज हुने पक्का गरेको हो। आन्दोलन र असहज परिस्थितिका कारण तय गरिएको मितिमा प्रदर्शन गर्न नसकेको भन्दै टिमले अघिल्लो साता दर्शकसँग क्षमायाचना गर्दै मिति सारिएको जानकारी दिएको थियो।

त्यही बेला ‘अनिश्चितकालका लागि स्थगित’ भन्ने सूचना जारी गरिएको थियो। तर अब निर्माण पक्षले नयाँ मिति कम्फर्म गर्दै, फिल्म जेठ ३० गतेबाट हलमा आउने घोषणा गरेको छ। ‘केही विशेष परिस्थितिका कारण जेठ १५ मा रिलिज हुन सकेन, अब भने महाभोज  ३० गते देशभर प्रदर्शनमा आउने छ,’ निर्देशक दिनेश राउतले भने।

केही दिनअघि काठमाडौंको सिभिल मलस्थित सिभिल मल्टिप्लेक्समा फिल्मको प्रिभ्यु शो आयोजना गरिएको थियो। उक्त शोमा सहकारी पीडित र पत्रकारहरूलाई फिल्म देखाइएको थियो।

महाभोजमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौला जस्ता कलाकारको अभिनय छ।

फिल्म क्लकवर्क क्रियसन र पिक्चर फ्रेम को संयुक्त प्रस्तुति हो। जसका निर्माता हिमाल कडरिया हुन्।

जेठ १८, २०८२ आइतबार १०:१५:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।