मुक्तिनाथधाममा दुई स्थानमा पदमार्ग निर्माण अन्तिम चरणमा

मुक्तिनाथधाममा दुई स्थानमा पदमार्ग निर्माण अन्तिम चरणमा

मुस्ताङ : तीर्थयात्रा गर्ने भक्तजनको सुविधाका लागि मुक्तिनाथधाम क्षेत्रको दुई स्थानमा पदमार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

डिभिजन सडक कार्यालय बागलुङमार्फत मुक्तिनाथधामको पुराङ रानीपौवा बजार क्षेत्र र मुक्तिनाथको प्रवेशद्वारदेखि ज्वालामाई गुम्बासम्म पदमार्ग निर्माणको ठेक्का सम्झौता भएको हो।

डिभिजन सडक कार्यालय बागलुङका इन्जिनियर सागर भण्डारीका अनुसार आर्थिक वर्ष २०८१र८२ अन्तर्गत सालबसाली योजना भित्र यी दुईवटा पदमार्ग निर्माण भइरहेको हो। रानीपौवा बजार क्षेत्रमा रु १ करोड र ज्वालामाई गुम्बासम्मको पदमार्गका लागि रु १ करोड बजेट विनियोजन गरिएको छ।


रानीपौवा बजार क्षेत्रमा नाली र फुटपाथसहित ८ मिटर चौडा पदमार्ग निर्माण भइरहेको छ। पदमार्गमा ४ मिटर चौडाइमा छप्पनी ढुङ्गा बिछ्याइँदैछ। यस कार्यको ठेक्का दुईभाइ निर्माण सेवा काठमाडौं ले पाएको हो।

मुक्तिनाथ बसपार्क नजिकैदेखि रानीपौवा बजार हुँदै २०० मिटर दूरीमा ढुङ्गा बिछ्याउने काम भइरहेको छ। हालसम्म यस क्षेत्रको पदमार्ग निर्माणको भौतिक प्रगति ४५ प्रतिशत पुगेको इन्जिनियर भण्डारीले जानकारी दिएका छन्।


मुक्तिनाथको मुख्य प्रवेशद्वारदेखि ज्वालामाई गुम्बासम्म ३५० मिटर दूरीमा रेलिङसहितको आरसिसी सिँढी बाटो निर्माण भइरहेको छ। यो बाटो २।१ मिटर चौडा हुनेछ।

यो कार्यको जिम्मा पिके कन्ट्रक्सनले लिएको हो। डिभिजन सडक कार्यालय बागलुङका अनुसार ज्वालामाई पदमार्गको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ।

यी दुवै संरचनालाई चालु आर्थिक वर्षको असारभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ। भक्तजनलाई सुरक्षित, सुगम र आकर्षक बाटो उपलब्ध गराउन यी परियोजना महत्त्वपूर्ण हुने जनाइएको छ।

जेठ १८, २०८२ आइतबार ०९:३९:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।