मध्यरातमा नारायणी अस्पतालमा अढाई घण्टासम्म अन्धकार, मोबाइलको लाइटले जोगिए बिरामी

मध्यरातमा नारायणी अस्पतालमा अढाई घण्टासम्म अन्धकार, मोबाइलको लाइटले जोगिए बिरामी
ai image

वीरगञ्ज : वीरगञ्जस्थित नारायणी अस्पतालमा शुक्रबार राति गम्भीर लापरबाहीपूर्ण घटना घट्यो। अस्पतालको सघन उपचार कक्ष (आइसीयू) र सिसीयूमा करिब दुई घण्टा ३० मिनेटसम्म विद्युत् आपूर्ति बन्द भयो। त्यो अवधिमा १७ जना गम्भीर बिरामी उपचाररत थिए।

राति १०:३० बजेदेखि बिहान १:०० बजेसम्म अचानक बत्ती गएको थियो। यस्तो संवेदनशील ठाउँमा कुनै ब्याकअप जेनरेटर वा वैकल्पिक व्यवस्था तत्काल नचल्दा चिकित्सक र नर्सहरूलाई मोबाइलको टर्चको सहारामा उपचार गर्नुपर्यो। तर, स्वास्थ्यकर्मीहरूको सतर्कता र राम्रो समन्वयले बिरामीको ज्यान भने जोगियो।  

जिल्ला प्रशासन कार्यालयले यो घटनालाई गम्भीरतापूर्वक चासो लिएको बताएको छ। प्रशासनले विद्युत् आपूर्तिमा हेलचेक्याइँ गर्ने सम्बन्धित कर्मचारीलाई आन्तरिक छानबिन गरेर आवश्यक कारबाही गर्न निर्देशन दिएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र पर्साका प्रहरी प्रमुख गौतम मिश्रले शनिबार नारायणी अस्पताल विकास समितिका अध्यक्ष, निमित्त मेडिकल सुपरिटेन्डडेन्ट, प्रशासन प्रमुख, अस्पतालका विभिन्न विभाग तथा कक्षमा कार्यरत चिकित्सक, नर्सिङ विभागमा कार्यरत नर्सिङ स्टाफ, इलेक्टिसियनलगायत अस्पतालसँग जोडिएका सबै निकायका पदाधिकारी तथा कर्मचारीसँग शनिबार संयुक्त बैठक राखेर अस्पतालजस्तो संवेदनशील क्षेत्रमा गम्भीर हुनका लागि कडा निर्देशन दिएका छन्।

‘अस्पतालको आइसीयू र सिसीयूजस्तो संवेदनशील ठाउँमा साढे दुई घण्टा विद्युत् अवरुद्ध हुनु निकै गम्भीर विषय हो’, प्रजिअ अर्यालले भने, ‘तपाईँहरूका कारणले कुनै बिरामीको ज्यान जोखिममा परेको भए जिम्मेवारी लिने कसले हो। हिजोको विषम घटनाबाट पाठ सिक्दै आगामी दिनमा यस्ता खालका कुनै पनि गल्ती र कमजोरी नदोहोर्याउनका लागि निर्देश गर्दछु,। जनताको स्वास्थ्यजस्तो कुरामा कसैले पनि खेलवाड गर्न पाइँदैन ।’

प्रहरी प्रमुख मिश्रले अस्पताल प्रशासनले इलेक्टिसियनलगायतका कर्मचारीलाई २४सैँ घण्टा ड्युटीमा खटाउनका लागि पनि अनुरोध गरे। ‘अस्पतालको सघन कक्षमा बिजुली कटौती हुँदा इलेक्ट्रियन उपलब्ध नहुनु पनि गम्भीर विषय हो’, उनले भने, ‘ड्युटीमा खटिने कर्मचारी शारीरिक र मानसिक रूपमा स्वस्थ हुनुपर्ने र आफ्नो जिम्मेवारी सम्हानुपर्ने बताए।’ 

नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताले शुक्रबार राति भएको घटना गम्भीर प्रकृतिको भएकाले आगामी दिनमा त्यस्ता खालका घटना दोहोर्याउन नदिने प्रतिबद्धता व्यक्त गरे।  अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट चित्ररञ्जन साहले आइसीयू र सिसीयू कक्षमा कमजोर प्रकृतिको वायरिङको कारणले सो घटना भएको दाबी गरे। ‘अस्पताल प्रशासनले आइसीयूमा भएका दुई जना सिकिस्त प्रकृतिका बिरामीलाई अर्को अस्पतालमा पठाउने तयारी गर्दागर्दै विद्युत् आएसँगै पठाउन परेन,’ उनले भने। 

जेठ १८, २०८२ आइतबार ०९:०८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।