हवाई भाडादरमा लाग्ने भ्याट नहटाएकामा नाट्टाको असन्तुष्टि

काठमाडौं : आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा हवाई भाडामा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) नहटाइएको भन्दै नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले असन्तुष्टि जनाएको छ।
नाट्टाका महासचिव युविका भण्डारीद्वारा आज जारी गरिएको विज्ञप्तीमा भ्याटको विषयमा लामो समयदेखि सरकारलाई ध्यानाकर्षण गराउँदै आएको भए पनि यो वर्षको बजेटमा समेत बेवास्ता गरिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरिएको छ।
विज्ञप्तीमा भनिएको छ, 'दुई वर्षदेखि निरन्तररूपमा उठाइएको मागको बेवास्ता गर्दै यस वर्ष पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई भाडामा लाग्ने भ्याट कायम राखिएको देख्दा पर्यटन क्षेत्रका सरोकारवालाहरू स्तब्ध भएका छन्।'
भण्डारीका अनुसार बजेटमा पर्यटन प्रवर्द्धनका लागि केही सकारात्मक कुराहरू समावेश भए पनि हवाई सेवा सम्बन्धी निर्णयले विदेशी पर्यटकलाई नेपाल आउन हतोत्साहित गराउने खतरा रहेको छ। 'नेपाल प्रवेशको सुरुआती चरणमै पर्ने हवाई सेवामा लाग्ने करले पर्यटन क्षेत्रमाथि प्रत्यक्ष असर पारिरहेको छ', उनको भनाइ छ।
'पर्यटकहरूको जम्मा भ्रमण खर्चमध्ये तीन चौथाइभन्दा बढी हवाई यात्रामा खर्च हुने अवस्था छ। यथेष्ट संख्यामा पर्यटक आउन नसकेमा बजेटका पर्यटन सम्बन्धी सकारात्मक पक्षहरू केवल घोषणा मै सीमित हुने खतरा रहन्छ,' उनले भनेर।
नाट्टाले विगतदेखि नै अर्थमन्त्री, पर्यटनमन्त्री, सांसदहरू र प्रमुख दलका नेताहरूले विभिन्न सार्वजनिक मञ्चमा हवाई भाडामा लाग्ने भ्याट अनुचित रहेको धारणा राख्दै आए पनि त्यसको कार्यान्वयन नभएकोमा गुनासो गरेको छ।
नाट्टाले २०८०/८१ देखि निरन्तररूपमा हवाई भाडामा लाग्ने भ्याट खारेजीको माग गर्दै आएको र सरकारले अझैसम्म त्यसप्रति स्पष्ट नीति नल्याएको भन्दै आक्रोश पोखेको छ।
जेठ १७, २०८२ शनिबार २१:४९:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।