मर्यादा र निष्ठा कायम गर्न न्यायालयका कर्मचारीलाई प्रधानन्यायाधीशको निर्देशन

मर्यादा र निष्ठा कायम गर्न न्यायालयका कर्मचारीलाई प्रधानन्यायाधीशको निर्देशन

काठमाडौं : प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयमा कर्मचारीको कार्यक्षमता र योग्यता अनुसार परिचालन गर्न सके न्यायपालिकाले ठोस र सकारात्मक नतिजा प्राप्त गर्ने बताएका छन्।

ललितपुरमा आज आयोजित न्यायपालिका अधिकृत समाजको पाँचौँ वार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै प्रधानन्यायाधीश राउतले अधिकृत समाजले सामूहिक एकता, संस्थागत विकास र उत्तरदायी भूमिकामार्फत सशक्त संगठन निर्माण गर्नुपर्नेमा जोड दिए। ‘देशभरिका अधिकृतहरूका लागि अपनत्व लिन सक्ने संस्थाका रूपमा समाजको रूपान्तरण हुन जरुरी छ’, उनले भने।

राउतले न्यायपालिकामा कार्यरत अधिकृतहरू व्यवस्थापनदेखि प्रशासनसम्म समन्वयकारी भूमिका निर्वाह गर्ने स्थानमा रहेकाले उनीहरू इमानदार, मर्यादित र निष्ठावान् हुन आवश्यक रहेको बताए। ‘अधिकृत न्यायपालिकाको आधारस्तम्भ हुन्, त्यही आधारलाई बलियो बनाएर अघि बढ्नुपर्छ,’ उनले थपे।

फछ्र्यौट र पेसी व्यवस्थापनमा सक्रियता आवश्यक रहेको उल्लेख गर्दै प्रधानन्यायाधीश राउतले संसदीय समितिमा व्यक्त गरिएको ‘दुई वर्षभित्र दुई वर्षभन्दा पुराना मुद्दा शून्यमा ल्याउने’ प्रतिबद्धता कार्यान्वयन गर्न कर्मचारीबाट समर्पित सहयोग अपेक्षित रहेको बताए।

कार्यक्रममा उनले न्याय क्षेत्रलाई गरिमामय र राष्ट्रले विश्वास गर्ने सेवा क्षेत्रका रूपमा व्याख्या गर्दै न्याय सेवाका कर्मचारीहरूप्रति जनविश्वास उच्च बनाइराख्न इमानदारीपूर्वक काम गर्न आग्रह गरे।

‘हामी सबैको कार्य नै न्यायपालिकाको ऐना हो,’ उनले भने, ‘त्यसैले हामी सबैको समर्पण र निष्ठा नै सुधार र प्रगतिको मार्गदर्शक बन्नुपर्छ।’ 

जेठ १७, २०८२ शनिबार २०:२६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।