कांग्रेस र एमालेसँग सहकार्य गर्दा उनीहरूको रोग हामीमा सर्यो, अब सहकार्य गर्दैनौं : प्रचण्ड

कांग्रेस र एमालेसँग सहकार्य गर्दा उनीहरूको रोग हामीमा सर्यो, अब सहकार्य गर्दैनौं : प्रचण्ड

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेसँग सहकार्य गर्दा उनीहरूको रोग आफूहरूमा सरेको बताएका छन्। 

शनिबार कीर्तिपुरमा आयोजित माओवादी केन्द्र कीर्तिपुर नगर समितिद्वारा आयोजित पिकनिक तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले अब कांग्रेस र एमालेसँगको सहकार्य नहुने दाबी गरे। ‘हामीले कांग्रेस र एमालेसँग सहकार्य गर्दा उनीहरूको रोग हामीमा सरेको जस्तो भयो। उनीहरूको रोग त फेरि सरुवा रोग हो। अब जनताको घर–घरमा गएर त्यसको उपचार गर्छौं। हामी अब उनीहरूसँग सहकार्य गर्दैनौं ,’ उनले भने।

उनले कीर्तिपुरले आफूलाई गणतन्त्र नेपालको पहिलो जन निर्वाचित प्रधानमन्त्री बनाएको स्मरण गर्दै नेता, कार्यकर्ता, युवा, वृद्ध र सम्पूर्ण जनसमुदायप्रति धन्यवाद व्यक्त गरे। ‘कीर्तिपुर नजितेसम्म न त चित्त बुझ्छ, न त मनमा शान्ति हुन्छ ,’ उनले भने, ‘यसपटक जित्न विशेष प्रयास गर्यौ, डा. शिव शरण महर्जनलाई जिताउन सकिएन, तर तेस्रोबाट दोस्रो स्थानमा पुर्याउन सक्यौं। हामी निराश भएका छैनौं, अब केही नयाँ गर्नुपर्छ भन्ने दृढ निश्चय लिएका छौं।’

प्रचण्डले माओवादी केन्द्रले सरकारमा रहेका बेला भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा काम गरेको उल्लेख गर्दै भने, ‘जनताले माओवादी नै जनताको पक्षमा काम गर्छ भन्ने विश्वास गर्न थालेका थिए। तर यही काम बिचौलियालाई मन परेन। त्यसैले अपारदर्शी ढंगले हामीलाई सरकारबाट हटाइयो।’

सरकारबाट बाहिरिएपछि पार्टीले आत्मसमिक्षा गरी देशव्यापी जनताको जोडिने अभियान पनि सञ्चालन गरेको उनले बताए। ती अभियान अन्तर्गत तराईमा हुलाकी मार्ग केन्द्रित, पहाडमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान र अन्य रणनीतिका कार्यक्रमहरू भइरहेको जानकारी दिए।

हुलाकी अभियानमा तराईमा करिब ८-९ लाख जनताले पार्टीमा प्रवेश गरिसकेको दाबी गरेका छन्। ‘अब जनताले बुझ्न थालेका छन् माओवादी र कांग्रेस-एमाले एउटै होइनन् । माओवादी केन्द्र नै जनताको असली प्रतिनिधि हो ,’ उनले भने।

जेठ १७, २०८२ शनिबार १९:१८:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।