आलमलाई गृहमन्त्री बनाउन प्रधानमन्त्रीलाई सांसद सिंहको सुझाव

काठमाडौं : राप्रपाका सांसद दीपक सिंहले नेपाली कांग्रेसका पूर्व सांसद मोहम्मद अफताब आलमलाई गृहमन्त्री बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन्।
राजसंस्था पुनःस्थापना र नेपाललाई हिन्दू राष्ट्र घोषणाको माग गर्दै राजावादीको आन्दोलनलाई सम्बोधन गर्दै उनले ओलीको आदेशमा आलमलाई छाडिएको आरोप लगाए। ‘प्रधानमन्त्री ज्यू रमेश लेखक त मानव तस्करमा फसे। अब चोखो मान्छे आलम छ। उसलाई गृहमन्त्री बनाउनुहोस,’ सिंहले व्याङ्ग्य गर्दै भने।
उनले गणतन्त्रको नाममा देशद्रोहीलाई जोगाउने काम भइरहेको बताए। सिंहले गणतन्त्रवादीहरूले १६७ वटा कारखाना बेचेर खाएको आरोप पनि लगाए।
राजसंस्था पुनःस्थापना र नेपाललाई हिन्दू राष्ट्र घोषणाको माग गर्दै राजावादीको आन्दोलन तेस्रो दिनमा पुगेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नेतृत्वमा भइरहेको प्रदर्शन शनिबार बालुवाटारसम्म पुगेको थियो।
राजावादीहरूले नारायणहिटी दरबार संग्रहालय अगाडि प्रदर्शन गर्ने योजना बनाएका थिए। प्रशासनले त्यहाँ निषेधाज्ञा लागू गरेपछि आन्दोलनकारीहरू प्रधानमन्त्री निवास रहेको बालुवाटारतिर मोडिए। तर त्यहाँ पनि निषेधित क्षेत्र पार गर्न नदिएपछि उनीहरूले सडकमै बसेर प्रदर्शन गरेका थिए।
जेठ १७, २०८२ शनिबार १८:२३:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।