सेवा निवृत्त कर्मचारीको योगदानलाई राज्यले अवमूल्यन गरेको गुनासो

सेवा निवृत्त कर्मचारीको योगदानलाई राज्यले अवमूल्यन गरेको गुनासो

काठमाडौं : सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीहरूले राज्यले आफ्नो योगदानको बेवास्ता गरेको गुनासो गर्दै सरकारविरुद्ध आन्दोलनको चेतावनी दिएका छन्।

शनिबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले वहालवाला कर्मचारीलाई दिइएको भत्ता र सेवा निवृत्त कर्मचारीको बेवास्ताबीचको असमानता औंल्याउँदै आक्रोश व्यक्त गरे।

नेपाल राष्ट्रिय कर्मचारी महासंघका अध्यक्ष मणिरत्न श्रेष्ठले सेवा निवृत्त राष्ट्रसेवकहरूको संघर्षमा ऐक्यबद्धता जनाउँदै भने, ‘यदि सरकारले उपेक्षा जारी राख्यो भने, हामी पनि कडा संघर्षमा उत्रन्छौं।’

त्यस्तै सेवा निवृत्त राष्ट्रिय संगठन नेपालका अध्यक्ष बाबुराम पाण्डेले हरेक तीन वर्षमा तलब समायोजन हुनु पर्ने नियम हुँदाहुँदै चार वर्ष बितिसक्दा पनि पेन्सन नबढाउनु दुःखद भएको बताए।

‘वहालवाला कर्मचारीलाई पाँच हजार ‘ललिपप’ दिएर रमाइलो बनाइएको छ, तर हामीले देशका लागि दिएको जीवनभरको योगदानलाई अपमान गरिएको छ,’ उनले चेतावनी दिँदै भने, ‘अब सहन सकिन्न, सरकार गम्भीर नभए आन्दोलनमा जान्छौं।’

महासचिव विनोद थापाले पनि सरकारको नियोजित ढंगले सेवा–सुविधा नबढाएकोप्रति रोष व्यक्त गर्दै संघर्षबाट पछि नहट्ने घोषणा गरे।

नेपाल राष्ट्रिय कर्मचारी संगठनका संस्थापक सदस्य तेज प्रसाद पुडासैनीले भने, ‘मन्त्री, सांसद र उच्चपदस्थका तलब-भत्ता बढाउने सरकारलाई सेवा निवृत्त राष्ट्रसेवक देखिँदैनन्, यो गैरजिम्मेवार व्यवहार हो।’

कार्यक्रममा संगठनका सल्लाहकार बासुदेव हुमागाई, गंगाबहादुर भूजेल, उपाध्यक्ष मित्रप्रसाद खतिवडा, रमा घिमिरे, कोषाध्यक्ष बयान बहादुर कार्की लगायत अन्य पदाधिकारीहरूको पनि उपस्थिति थियो।

सेवा निवृत्त राष्ट्रसेवकहरूले अबको दिनमा पनि आफ्ना माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएका छन्।

जेठ १७, २०८२ शनिबार १७:४८:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।