मनसुन भित्रिएसँगै पूर्वमा वितण्डा, के छ सरकारको तयारी ?

मनसुन भित्रिएसँगै पूर्वमा वितण्डा, के छ सरकारको तयारी ?

इटहरी : शुक्रबारदेखि औपचारिक रूपमा प्रवेश गरेको मनसुनले कोशी प्रदेशमा त्रास फैलाएको छ।

निरन्तर वर्षापछि आएको बाढी र पहिरोले धनकुटादेखि झापासम्मको जनजीवन प्रभावित बनाएको छ। प्रमुख सडक अवरुद्ध छन्, बस्ती जोखिममा परेका छन् र मानिसहरू अलपत्र परेका छन्। 

धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ स्थित लेउती खोलामा आएको बाढीले कोशी लोकमार्गको झण्डै १०० मिटर सडक भाग बगाएको छ। शुक्रबार रातिदेखि नै अविरल वर्षा भइरहँदा खोलाले सडक नै बगाएपछि सवारी आवागमन ठप्प भएको छ।

यातायात अवरुद्ध हुँदा धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरबाट धरान, इटहरी र विराटनगरतर्फ आउने तथा जाने सवारीसाधन रोकिएका छन्। शनिवारकै दिन शिक्षक सेवा आयोगको परीक्षा रहेका कारण सयौं परीक्षार्थीहरू समयमै केन्द्र पुग्न नसकी अलपत्र परेका छन्।केही वर्ष अघिपनि यही खण्डमा खोलाले सडक बगाएर ठूलो क्षति पुर्याएको थियो। 

मोरङ जिल्लाको विराटनगर–१२ मा पर्ने केशलिया खोलाले बस्ती नै जोखिममा पारिदिएको छ। स्थानीयवासीहरूका अनुसार खोलामा अस्थायी तटबन्ध निर्माण भए पनि खोलामा आएको अत्याधिक पानीले त्यसलाई समेत काट्दै बस्तीमा पस्ने खतरा बढेको छ।

पूर्वमुख्यमन्त्री केदार कार्कीले केशलियमा ठेकेदारको लापरवाही प्रमुख कारण भएको आरोप लगाएका छन्। उनले आयोजना अनुगमनमा खटिएका अधिकृत र ठेकेदारमाथि कारबाही गर्न माग गरेका छन्।

झापाको मेचीनगर क्षेत्रमा निर्माणाधीन एसियन हाइवे अन्तर्गतका तीनवटा डाइभर्सन-कालीखोला (काँकडभिट्टा), ढुकुरे खोला (धुलाबारी) र एनिमल अन्डरपास क्षेत्र (चारआली)-मा आएको बाढीले संरचना बगाएको छ । काँकडभिट्टा-लौकही सडक आयोजना कार्यालयका प्रमुख इञ्जिनियर सुनिलबाबु पन्तका अनुसार ती डाइभर्सनहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

पूर्व-पश्चिम लोकमार्गको पूर्वी खण्डमा यातायात प्रभावित हुँदा झापा, इलाम र पाँचथरसँगको सडक आवागमनमा समस्या भएको छ। 

सुनसरी जिल्लाको चतरा–बराहक्षेत्र सडकमा पहिरो खसेपछि सवारी साधन चल्न सकेका छैनन्। धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण यस मार्गमा अवरुद्ध हुँदा स्थानीय बासिन्दा र पर्यटकहरूलाई कठिनाइ भएको छ।

सरकारको तयारी के छ ?

मनसुन सुरु हुनुअघि नै बाढी, पहिरो तथा अन्य विपद् व्यवस्थापनको पूर्वतयारी नक्साङ्कन अनुसार काम थालिएको कोशी प्रदेश सरकारको दाबी छ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीका अनुसार, ‘विज्ञहरूको सुझाव र प्रतिवेदनको अध्ययन गरी विपद् प्रतिकार्य र पुनर्निर्माणका लागि बजेट छुट्याइएको छ। स्थानीय तहसँग समन्वय गरी काम अगाडि बढाइन्छ।’

भण्डारीका अनुसार, अघिल्ला वर्षमा विपद् व्यवस्थापनका लागि प्रशासनिक खर्चबाट रकम व्यवस्थापन गर्नुपर्ने बाध्यताले काममा ढिलाइ भएको हो। ‘तर, अब आगामी वर्षदेखि नै योजना अनुसार पूर्वतयारी हुन्छ,’ उनले भने।

मौसम पूर्वानुमान महाशाखाले पूर्वी नेपालका अधिकांश नदीहरूमा बाढीको खतरा अझै यथावत रहेको जनाएको छ। विशेषगरी कोशी, तमोर, बुढीगंगा, कन्काई लगायतका नदीमा पानीको बहाव उच्च रहनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

जेठ १७, २०८२ शनिबार १७:२९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।