घोषणापछि गायब हुने ‘रियालिटी शो’हरू

काठमाडौं : नेपालमा गायनदेखि कमेडीसम्मका ‘रियालिटी शो’हरू धमाधम आइरहेका छन्। पछिल्लो समय ‘नेपाल आइडल’ र ‘भ्वाइस अफ नेपाल’जस्ता गायन ‘रियालिटी शो’ चर्चित छन्। कविता देखि कमेडी ‘शो’ले चर्चा कमाए। खासै हल्ला नभए पनि ‘मेरो भ्वाईस युनिभर्स’ र ‘मेरा डान्स युनिभर्स’ जस्ता शोहरू पनि चलेकै छन्। यसअघि ‘नेपाली तारा’ र ‘लोकस्टार’जस्ता शोहरूले पनि धेरै दर्शक कमाएका थिए। अहिले देशैभरि स्थानीय स्तरमा हुने रियालिटी शोहरूको पनि छुट्टै रौनक छ। तर नेपालमा अहिले घोषणा हुने र गायब हुने ‘शो’हरू पनि थुप्रै छन्।
‘महागफाडी’को गफ मात्रै
दुई वर्ष अगाडि ठूलै तामझामका साथ घोषणा गरिएको टेलिभिजन रियालिटी शो ‘महागफाडी’ अहिले हराएको छ। हात्तिसारस्थित नेपाल हाउसमा पत्रकार र पाहुनाको बीचमा कार्यक्रम गरेर शोको सुरुवात साउन १५ गतेबाट डिजिटल अडिसनबाट गरिने र असोजको तेस्रो साताबाट प्रसारण हुने भनिएको थियो।
त्यति बेला शोको अडिसनमा करिब ७ हजार प्रतिस्पर्धीले आवेदन दिएका थिए। तीमध्ये सय जना छनोट गरिए, फेरि फिजिकल अडिसनमार्फत झार्दै झार्दै १८ जना प्रतिस्पर्धी टपमा पुगे। त्यसमाथि फेरि ६ जना थपेर कुल २४ जना प्रतिस्पर्धी बनाइयो। कार्यक्रम सुरू हुन लागेकै जस्तो देखिएको थियो, तर त्यही बेला आयोजक शो अगाडि बढाउन सक्ने हैसियतमा रहेन।
छनोट भएका प्रतिस्पर्धीहरू शुभम सिंह भूमियारदेखि निरोज त्वायानासम्म अहिले आ-आफ्नो बाटो लागिसकेका छन्। कार्यक्रम सुरु होला भन्ने आशा लिएर बसेका उनीहरूले दुई वर्षसम्म पर्खिए, तर न शो आयो, न केही खबर।
झापाबाट आएका प्रतिस्पर्धी कृष्ण भुर्तेलले उकेरासँग भने, ‘हामी १८ जना फाइनलमा पुगिसकेका थियौँ, पछि ६ जना थपिएर २४ जना भयौँ। केही एपिसोड समेत खिचिएको थियो। तर त्यसयता आयोजकले ‘आउँछ’ भन्दै-भन्दै दुई वर्ष बिताइसके, अझै पनि आउँछ भनेर टारिरहनु भएको छ।’
गुल्मीका श्रीराम कँडेलको गुनासो पनि उस्तै छ। उनले त ‘महागफाडी’प्रति आफूले अब माया नै मारेको सुनाए। उनका अनुसार म्यानेजमेन्ट टिमकै गैरजिम्मेवारीले गर्दा शो अघि बढ्न सकेन। ‘आउँछ आउँछ भन्ने मात्रै हो, आउँदैन नि। हामीले त अब त यसमा खासै विश्वास छैन,’ उनले उकेरासँग भने।
चितवनका डिल्लीराज अधिकारीले त झन् यो शोले आफ्नो करिअरमा नै असर पारेको सुनाए। ‘महागफाडीको टप १८ को प्रतिस्पर्धी म आफै हुँ। १८ महिना अघि नै शो अगाडि बढ्न सकिरहेको छैन। आयोजकलाई फोन गर्दा ‘३ दिनमा प्रोमो निकाल्छौँ, ७ दिनमा निकाल्छौँ’ भन्छन्। आश्वासन त दिँदै हुनुहुन्छ, तर शो त कहीँ छैन।’
उनले सुनाए, ‘गफाडी भन्ने टाइटल मन परेर भाग लिएको थिएँ। १०० जनाबाट टप १८ मा पुगेपछि आयोजकले भने, ‘अब तपाईंहरू १०-१५ दिनमै तयार हुनुपर्छ, होस्टेल बस्नुपर्छ’ म एक कम्पनीमा काम गर्दै थिएँ, राम्रो तलब पनि पाइरहेको थिएँ। त्यो काम पनि छाडे शोको लागि। तर न शो आयो, न जागिर रह्यो।’
शोको प्रारम्भिक योजना त निकै भव्य थियो। १६ हप्तासम्म चल्ने भनिएको कार्यक्रमको फिनाले अष्ट्रेलियामा हुने भनिएको थियो। अझ भनिएको थियो कि वर्ल्ड टुरको सुरुवात क्यानडाबाट हुनेछ। शोको निर्णायक प्यानलमा थिए- कमेडियन शैलेन्द सिंहखडा, अभिनेत्री लुनिभा तुलाधर र अभिनेता बुद्धि तामाङ। होस्टको रूपमा अभिनेता कामेश्वर चौरासिया रहने तय भएको थियो। विजेताले १५ लाख, उपविजेताले १० लाख र सेकेन्ड रनरअपले ५ लाख जित्ने घोषणा भइसकेको थियो।
‘शो’का निर्देशक नरेनाथ योगीले त्यतिबेला पत्रकार सम्मेलनमै भनेका थिए, ‘महागफाडी बोलेर केही गर्न चाहनेहरूका लागि उपयोगी र नवीन प्लेटफर्म बन्नेछ।’
शोका प्रोजेक्ट हेड दीपक आर्जेले रोकिएको काम फेरी अघि बढेको बताए। उनले उकेरासँग कुरा गर्दै भने,‘अहिले आर्थिक समस्या, विज्ञापन एजेन्सीसँग कुरा नमिलेकोले रोकिएको थियो। प्रतिस्पर्धीहरूलाई लामो समय होस्टेलमा राख्यौँ। पछि कार्यक्रम अगाडि बढाउन नसकेपछि नजिक घर भएका केहीलाई घर फर्कायौँ, केही अझै यहाँ छन्।’
शो साँच्चै बन्द भएको हो कि भन्ने प्रश्नमा उनले थपे, ‘एपिवान टेलिभिजनसँग कुराकानी भइसकेको छ, ४ वटा एपिसोड पनि खिचिसकेका छौँ। प्रोमो पनि टेलिभिजनमा बज्न थालेको छ। केही समयपछि प्रसारण हुन्छ। हामी रोकिएका छैनौँ।’
दोहोरी ‘शो’ को हालत पनि उस्तै
दुई वर्षअघि नै टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन’को घोषणा भइसकेको थियो। काठमाडौंमा पत्रकार सम्मेलन गरेर केही सातापछि डिजिटल र अनलाइन अडिसन सुरु हुने भनियो, तर यो शो को पनि अत्तोपत्तो छैन।
एजे इन्टरटेनमेन्टले निर्माण गर्ने भनिएको ‘दोहोरी आइकन’मा कोमल वली, पशुपति शर्मा र कुलेन्द्र विश्वकर्मा निर्णायक हुने जानकारी दिईएको थियो। होस्टका रुपमा पिएन सापकोटा र शोभा त्रिपाठीलाई राख्ने भनिएको थियो। आयोजकहरूले पहिलो हुनेलाई २५ लाख पुरस्कार र वल्र्ड टुरको अवसर पनि दिने बताएका थिए। तर अहिलेसम्म न शो प्रदर्शनमा आयो, न कार्यक्रम नै अगाडि बढ्यो।
पत्रकार सम्मेलन गर्ने क्रममा लोकगायिका कोमल वली, समाजसेवी रमेशबाबु श्रेष्ठ, गायक पशुपति शर्मा, कुलेन्द्र विश्वकर्मा, कृष्ण रेउले, दीपक खड्का लगायतको उपस्थिति थियो। ‘कार्यक्रम थाल्ने भनेर स्टुडियो लगायत सबै काम अघि बढेको तर के कारणले रोकिएको हो थाहा छैन,’ कुलेन्द्र विश्वकर्माले उकेरा सँग भने, ‘२ वर्षअघि ‘दोहोरी आइकन’को घोषणा भएता पनि आयोजकले यसै महिनाबाट सुरु गर्ने भन्नु भएको थियो। स्टुडियो लगायत कुरामा राम्रै काम भइरहेको थियो। जेठ, असारबाट काम थाल्ने कि भन्ने कुरा केही समय अघि भएको थियो। अहिले के भइरहेको छ थाहा छैन। सायद टेलिभिजनमा कुरा नमिलेर पो हो कि? यस बारेमा ठ्याक्कै थाहा भएन।’
‘दोहोरी आइकन’ भन्दा एक वर्षअघि अर्को एक शो को पनि घोषणा भएको थियो। नाम थियो- शो ‘दोहोरी आइडल’। लोक दोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’ का लागि पनि डिजिटल अडिसन खुला गरिएको थियो। आयोजकले एक कार्यक्रममा ७७ वटै जिल्लाबाट जिल्ला स्तरीय प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो भएका सबैले पुस १३ गतेदेखि २९ गतेसम्म आवेदन दिन सक्ने घोषणा गरेका थिए।
नेपालमा पहिलो पटक लिग स्तरीय दोहोरी रियालिटी शो भन्ने गरिएको ‘दोहोरी आइडल’मा प्रतिस्पर्धाका निर्णायक पुरुषोतम न्यौपाने, राजु परियार, घमेश दुलाल र रीता थापा रहने भएका थिए। यस कार्यक्रमको संयोजक अमृत खाती थिए। ‘डिएआर मुभिज’ले गर्ने भनिएको ‘दोहोरी आइडल’का विजेताले १५ लाख नगद र कार पाउने, दोस्रो हुनेले ७ लाख, तेस्रोले ५ लाख प्राप्त गर्ने भन्ने चर्चा थियो। वि.स.२०७९ साल पुस ९ गते घोषणा भइसकेको यो ‘दोहोरी आइडल’को छायाँकन माघदेखि सुरु गरिने र फागुनबाट नेपाल नेटवर्क टेलिभिजनबाट प्रशारण हुने भनिएको थियो।
तर दुईवटा माघको जाडो कटे पनि शो आएन। यसका प्रमुख निर्देशक श्याम धितालले भने, ‘पहिला जे सोचेर काम गर्न खोजिएको थियो, त्यस्तो भएन। टेलिभिजन लगायतका असहजता भयो। त्यस बेलाको बजार अवस्था बिग्रिएको हुनाले कार्यक्रमलाई ल्याउन सकेनौँ,’ उनले थपे, ‘एक करोड चानचुन घाटा खाइसकेका छौँ। तत्कालीन समयमा यो कार्यक्रम स्थगित गरेर बसेका छौँ। तर निकट भविष्यमा कार्यक्रम ल्याउने हिसाबले काम थालिरहेका पनि छौँ।’
आर्थिक समस्या सुल्झिएपछि ‘दोहोरी आइडल’ अगाडि बढाउने उनको भनाइ थियो। यो सँगै दोहोरी रियालिटीका यी दुई प्रयास पनि विफल भए।
जेठ १७, २०८२ शनिबार १६:५६:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।