बाढीले ‘एसियन हाइवे’का तीन डाइभर्सन बगायो, यातायात अवरुद्ध

झापा : पूर्वपश्चिम राजमार्गको पूर्वी खण्डमा स्तरोन्नति भइरहेको ‘एसियन हाइवे’ अन्तर्गत मेचीनगर क्षेत्रका तीन वटा डाइभर्सन गए रातिको अविरल वर्षापछिको बाढीले बगाएको छ। बाढीका कारण आज बिहानदेखि राजमार्गमा यातायात अवरुद्ध भएको थियो।
काँकडभिट्टा-लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) का आयोजना प्रमुख इन्जिनियर सुनिलबाबु पन्तका अनुसार मेचीनगरको काँकडभिट्टास्थित कालीखोला, धुलाबारीको ढुकुरे खोला र चारआलीको ‘एनिमल अन्डरपास’ को डाइभर्सन बगाएको हो।
बिहान ११ बजेसम्ममा चारआलीको ‘एनिमल अन्डरपास’ बाहेक कालीखोला र ढुकुरे खोलाको डाइभर्सन मर्मत सम्भार गरी यातायात एकतर्फी सञ्चालनमा आएको छ। इन्जिनियर पन्तले ‘एनिमल अन्डरपास’ को डाइभर्सन मर्मत कार्य धमाधम भइरहेको र छिट्टै सञ्चालनमा आउने जानकारी दिए।
बाढीले डाइभर्सन बगाएपछि ट्राफिक प्रहरीले राजमार्गसँग जोडिएका सहायक सडकमा घुमाएर लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनको व्यवस्था मिलाएको थियो।
मनसुनी वर्षा अनुमान गरिएभन्दा १५ दिन अगावै सुरु भएकाले पूर्वयोजना अनुरुप डाइभर्सनलाई सुदृढ बनाउन नभ्याइएको आयोजना प्रमुख पन्तले बताए। उनका अनुसार, निर्माणको ठेक्का लिएको कम्पनीलाई कल्भर्टको काम छिटो सक्न र पुल निर्माणाधीन रहेका स्थानमा बलियो डाइभर्सन बनाउन पहिलेदेखि नै निर्देशन दिइएको थियो। तर, अप्रत्याशित मनसुनले तयारी पूरा गर्न नपाउँदै ठूलो वर्षा भएको उनको भनाइ छ।
पन्तले आजै सबै डाइभर्सनको मर्मत सम्भार गरी सहज यातायात सञ्चालन गर्ने र आगामी १५ दिनभित्र सबै कल्भर्टमाथि दुई लेनबाट गाडी गुड्ने वातावरण बनाइने जानकारी दिए।
कालीखोला र भालुखोलाको पुरानो पुल भत्काइएकाले ती स्थानमा नयाँ पुल निर्माणमा समय लाग्ने देखिएको छ। त्यहाँ जुनसुकै बाढी थेग्न सक्ने गरी तीन तहको ह्युमपाइप हालेर बलियो डाइभर्सन बनाइने उनले बताए।
एसियाली विकास बैंकको सहयोगमा १० अर्ब रुपैयाँको लगानीमा एसियन हाइवेको पूर्वी खण्डको स्तरोन्नति कार्य भइरहेको छ। यसको निर्माणको ठेक्का एभ्रास्कन कालिका जेभीले लिएको छ।
नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले राजमार्ग स्तरोन्नतिमा भइरहेको ढिलासुस्तीका कारण यसपालिको वर्षामा राजमार्ग क्षेत्रमै बाढीजन्य विपद् निम्तिने एक साताअघि नै चेतावनी दिएका थिए।
काँकडभिट्टा-लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) दमकका आयोजना प्रमुख पन्तले वर्षात्को अवधिमा राजमार्ग क्षेत्रमा कुनै समस्या आएमा ‘र्यापिड रेस्पोन्स टोली’ मार्फत तत्काल समस्या समाधान गर्ने तयारी रहेको बताए।
जेठ १७, २०८२ शनिबार १३:०२:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।