चाँगुनारायणमा व्यक्ति नाममा रहेको १९ रोपनी १० आना सार्वजनिक जग्गा सरकारको नाममा फिर्ता

चाँगुनारायणमा व्यक्ति नाममा रहेको १९ रोपनी १० आना सार्वजनिक जग्गा सरकारको नाममा फिर्ता

भक्तपुर : चाँगुनारायण नगरपालिका-१ सरस्वतीखेल बसपार्कस्थित १९ रोपनी १० आना सार्वजनिक जग्गा व्यक्तिको नामबाट फिर्ता ल्याई सरकारको नाममा कायम गरिएको छ। 

यो जग्गा २०४२ सालमा व्यक्तिको नाममा दर्ता भई विभिन्न व्यक्तिमा हस्तान्तरण भएको थियो। आर्थिक वर्ष २०६०/०६१ मा यस विषयमा थाहा पाएपछि स्थानीयवासीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए।

आयोगले गरेको अनुसन्धानपश्चात् जिल्ला मालपोत कार्यालय भक्तपुरले व्यक्तिको नाममा भएको दर्ता खारेज गरी जग्गालाई पुनः सार्वजनिक कायम गरेको थियो।

जग्गा सरकारको नाममा फिर्ता आएपछि स्थानीय सरकारको पहल र नागरिकको सहभागितामा कालभैरबको मूर्ति स्थापना गरी प्राण प्रतिष्ठासमेत गरिएको चाँगुनारायण नगरपालिका-१ का वडाध्यक्ष सिजन कार्कीले जानकारी दिए।

उनका अनुसार, स्थानीयवासीकै पहलमा जग्गा फिर्ता आएको र यसको संरक्षणमा स्थानीय सरकार तथा स्थानीयवासी लागिपरेका छन्।

यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने लक्ष्यसहित करिब रु २० लाखको लागतमा अर्को एक मन्दिर र करिब रु २० लाखकै लागतमा बहुउद्देश्यीय सामुदायिक भवन निर्माणको काम अगाडि बढाइएको वडाध्यक्ष कार्कीले बताए।

जेठ १७, २०८२ शनिबार १२:३७:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।