डा. अमितको उपचार अनुभव : पाठेघरमा साल अड्किएर छट्पटाइरहेकी भूकम्पपीडित महिलालाई मध्यरातमा बचाउँदा...

डा. अमितको उपचार अनुभव : पाठेघरमा साल अड्किएर छट्पटाइरहेकी भूकम्पपीडित महिलालाई मध्यरातमा बचाउँदा...

डा. अमित लामगादे जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन विशेषज्ञ चिकित्सक हुन्। समग्र रोगको उपचारमा दखल राख्ने उनी दुर्गमका बिरामीले भोग्ने सास्ती नजिकबाट देख्छन्। डा. अमितले आफ्ना चिकित्सकीय अनुभव उकेरासँग बाँडेका छन्।

मृत्युको मुखमा पुगेकी महिलालाई बचाएको त्यो रात
जाजरकोटमा गएको भूकम्पले घाइते भएर गर्भपतन भएकी महिलालाई बचाएको एउटा प्रसङ्ग डा. अमितको मानसपटलमा ताजै छ।

घटना जाजरकोटमा दुई वर्षअघि गएको विनाशकारी भूकम्पपछिको हो। भूकम्पले धनजनको ठूलो क्षति भएको थियो। भूकम्प गएपछि डा. अमितको टोली पनि दाङबाट जाजरकोटतर्फ लाग्यो। विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्दै घाइतेको उपचार गर्दै उनीहरू जाजरकोटको दुर्गम ठाउँमा पुगे।

डा. अमितको टोलीले जाजरकोटका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्दै घाइतेलाई औषधि उपचार गरिरहेको थियो। यसै क्रममा एक दिन एउटा शिविर सकेर उनीहरू नजिकैको स्वास्थ्य केन्द्रमा बास बस्ने योजनासहित हिँडे। उनीहरू जाजरकोटको दुर्गम कुशे गाउँपालिकास्थित वडा नम्बर ६ को आधारभूत स्वास्थ्य केन्द्रमा राति करिब नौ बजे थकित भएर पुगे।

त्यो स्वास्थ्य केन्द्रमा करिब २१ वर्षकी एक भूकम्पपीडित महिलालाई ल्याइएको रहेछ, जो घाइते भएर गर्भपतनको अवस्थामा थिइन्। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई अन्यत्र लैजान एम्बुलेन्समा राखिएको थियो।

तर, डा. अमितको टोली त्यहाँ पुग्ने थाहा पाएपछि स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले केही समय पर्खेर डाक्टरको सल्लाह लिन सकिने ती महिलाका आफन्तलाई जानकारी दिएका रहेछन्। त्यसैले ती महिलाका आफन्त डा. अमितको टोलीलाई स्वास्थ्य केन्द्रमा पर्खिरहेका थिए।

डा. अमित पुगेपछि एम्बुलेन्सबाट निकालेर ती महिलालाई स्वास्थ्य केन्द्रको बेडमा सारियो। डा. अमितले २१ वर्षीया ती महिलाको स्वास्थ्य अवस्था जाँचे। उनी अर्धचेतन अवस्थामा थिइन्।

महिलाको रक्तश्राव भइरहेको थियो। डा. अमितले सोधखोज गर्दै जाँदा ती गर्भवती महिला भूकम्पमा परी भागदौडका क्रममा घाइते भइछन्। स्वास्थ्य केन्द्र ल्याएपछि उनको पेटमा पनि चोट लागेर गर्भको बच्चाको मृत्यु भएको रहेछ। स्वास्थ्य केन्द्रमा मृत बच्चा निकालिए पनि रक्तश्राव रोकिएको रहेनछ। यो सबै थाहा पाएपछि डा. अमितले गर्भभित्रै केही गडबडी भएको हुनसक्ने अनुमान गरे।

यसका लागि अल्ट्रासाउण्ड आवश्यक पर्ने उनले बुझे। संयोगले त्यहाँ एउटा अल्ट्रासाउण्ड मेसिन रहेछ। डा. अमितले तुरुन्तै ती महिलाको अल्ट्रासाउण्ड गरे। अल्ट्रासाउण्ड रिपोर्टले मृत बच्चा निकालिए पनि साल पाठेघरभित्रै अड्किएको देखायो। पाठेघरमा रगत र अन्य फोहोर पनि जमेको रहेछ।

साल निकाल्न केही बेर मात्रै ढिलो भएको खण्डमा ती महिलाको अत्यधिक रक्तश्राव भएर मृत्यु हुने जोखिम उच्च थियो। तर, एम्बुलेन्समा नै अन्य सुविधा भएका अस्पतालमा पुग्न करिब दश घण्टा समय लाग्थ्यो। डा. अमितले सोचे, ‘यी महिलालाई यहाँबाट पठायो भने त बाटैमा मृत्यु हुने उच्च जोखिम छ। महिला बाँच्दिनन्।’

त्यसैले डा. अमितले उनलाई त्यहीँ उपचार गरेर बचाउने जोखिमपूर्ण निर्णय लिए। संयोगले महिलाका श्रीमान् पनि स्वास्थ्यकर्मी रहेछन्। स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी र श्रीमानको सहमतिमा डा. अमितले उपचार प्रक्रिया थाले। उनले श्रीमानलाई उपचारका क्रममा आइपर्न सक्ने जोखिमबारे स्पष्ट पारेका थिए।

ती महिलाको शल्यक्रिया गरेरै अड्किएको साल र फोहोर निकाल्नुपर्ने थियो। तर, त्यो स्वास्थ्य केन्द्रमा स्रोत साधन अत्यन्तै सीमित थियो। शल्यक्रिया गर्दागर्दै अत्यधिक रक्तश्राव भएको खण्डमा महिलाको ज्यानै जान सक्ने सम्भावना थियो। तर, त्यहाँ शल्यक्रिया गरेर साल ननिकाल्ने हो भने बाटोमै ज्यान जाने सम्भावना लगभग निश्चित थियो।

त्यसैले जोखिम मोलेरै भए पनि डा. अमितले रक्तश्राव रोक्नेलगायतको उपचार सुरू गरे। प्राथमिक उपचारपछि अर्धचेतन अवस्थाकी महिला होसमा आइन्। अनि त्यही स्वास्थ्य केन्द्रको सामान्य प्रसूति कक्षमा उनले महिलाको साल निकाल्न शल्यक्रिया थाले। अत्यन्तै सीमित स्रोतसाधनका बाबजुद डा. अमितले पेट नचिरी योनीबाटै अड्किएको साल र पाठेघरमा जमेको रगत तथा फोहोर निकाल्न सफल भए। शल्यक्रिया सफल भयो।

मध्यरातमा मृत्युको मुखमा पुगेकी ती महिलाको ज्यान जोगियो। उनलाई रातभर स्वास्थ्य केन्द्रमा डा. अमितको टोलीको निगरानीमा राखियो। रातको साढे एक बजे ज्यान बचाउन सफल भएपछि त्यहाँ खुसीको माहौल छायो। उनीहरू पनि त्यहाँ बास बसे। बिहान शल्यक्रिया गरेर साल निकालेकी ती महिला हिँड्न नै सक्ने भइसकेकी थिइन्।

ज्यान बाँचेकोमा खुसी हुँदै ती महिला र उनका श्रीमानले डा. अमितलाई धन्यवाद दिए। अनि ती २८ वर्षीया महिला स्वास्थ्य केन्द्रबाट हिँडेरै घर फर्किइन्। डा. अमितको टोली पनि त्यही स्वास्थ्य केन्द्रमा भूकम्पबाट घाइते भएका अन्य व्यक्तिको उपचारका लागि स्वास्थ्य शिविर सञ्चालन गर्न खटियो।

रुपन्देहीमा जन्म, छात्रवृत्तिमा एमबीबीएस
रुपन्देहीको हालको तिलोत्तमा वडा नम्बर-३ शंकरनगरमा २०४१ मा जन्मिएका अमित लामगादेले स्थानीय प्यारामाउण्ट हायर सेकेन्डरी बोर्डिङ स्कुलबाट २०५८ मा एसएलसी गरे। एसएलसीपछि उनी थप अध्ययनका लागि काठमाडौं आए। अनि उनले हिमालयन ह्वाइट हाउसबाट प्लस टु गरे।

अध्ययनमा अब्बल अमितलाई डाक्टर नै बन्ने सपना थियो। त्यसैले उनले एमबीबीएस अध्ययनको तयारी गरे। छनोट परीक्षा दिए। अनि एमबीबीएस अध्ययनका लागि उनी छनोट मात्रै भएनन्, सरकारी छात्रवृत्ति कोटामा नै अध्ययन गर्ने मौका पाए।

उनी काठमाडौं विश्वविद्यालय अन्तर्गतको नेपालगञ्जस्थित नेपालगञ्ज मेडिकल कलेजमा एमबीबीएस अध्ययनका लागि सन् २००५ मा भर्ना भए। सन् २०१० मा उनको एमबीबीएस अध्ययन पूरा भयो। उनले सरकारी छात्रवृत्ति कोटामा एमबीबीएस अध्ययन गरेकाले पढाइ पूरा गरेपछि दुई वर्ष अनिवार्य छात्रवृत्ति करार सेवा अन्तर्गत काम गर्नुपर्ने थियो। त्यसैले डा. अमितले एमबीबीएस अध्ययनपछि बर्दिया जिल्ला अस्पतालमा दुई वर्ष छात्रवृत्ति करारमा काम गरे।

बर्दियामा काम गर्दा डा. अमित बच्चा जन्माउन नसकेको अवस्थामा शल्यक्रिया गरी बच्चा निकाल्ने शल्यक्रिया प्रसूति सम्बन्धी तालिमका लागि छनोट भई भरतपुर अस्पताल गएर तालिम लिए। उनको चिकित्सकीय पेशाको त्यो तालिम निकै महत्वपूर्ण रहेको सम्झन्छन्, डा. अमित। त्यही तालिमका कारण नै केही समय जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि गएर शल्यक्रिया प्रसूति सम्बन्धी काम गर्ने अवसर पाएको उनी सम्झन्छन्।

छनोटमा सबै रोगको उपचार गर्ने विषय
उनी थप अध्ययन गर्न चाहन्थे। उनले चिकित्साशास्त्रको स्नातकोत्तर तहको अध्ययनका लागि तयारी गरे। सन् २०१५ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा भर्ना भएर उनले ‘जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन’ विषय अध्ययन सुरू गरे। यो विषयलाई ‘फ्यामिली मेडिसिन’ का नामले पनि चिनिन्छ।

सरकारी छात्रवृत्तिमा नै अध्ययन गरेका उनले सन् २०१८ मा एमडीजीपी/ईएम अध्ययन पूरा गरे। यो समग्र रोगको पहिचान र उपचार गर्ने चिकित्सकीय विषय हो। एमडीजीपी/ईएम अध्ययनपछि उनी छात्रवृत्तिको शर्तअनुसार सेवा गर्न दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगे। त्यहाँ उनले करिब १५ महिना काम गरे।

कोरोनामा स्तन क्यान्सरपीडित संक्रमितलाई बचाएको त्यो अनुभव
सन् २०१९ को डिसेम्बर अन्त्यबाट चीनमा कोरोना भाइरस संक्रमण सुरू भयो। त्यो बेला कोरोना भाइरस संक्रमण फैलिएर त्रास सिर्जना गरिरहेको थियो। त्यसैले राप्तीमा करिब १५ महिना काम गरेपछि उनलाई स्वास्थ्य मन्त्रालयले दाङको बेलझुण्डी अस्थायी कोभिड अस्पतालमा खटायो। सुरूमा त उनी मरिने हो कि भन्ने मनमा डर मान्दै त्यहाँ पुगे। तर, उनी कोरोनादेखि भागेनन्। डा. अमितको चिकित्सकीय धर्म नै बिरामीको औषधि उपचार गरेर सञ्चो बनाउनु हो। उनी त्यो धर्म र कर्तव्य पालना गर्न तयार भए।

आफू सुरक्षित हुने कोसिस गर्दै उनी बेलझुण्डी अस्थायी कोभिड अस्पतालमा पुगेर कोरोना भाइरस संक्रमितको औषधि उपचारमा खटिए। त्यहाँ केही महिनाको अवधिमा उनको टोलीले कोरोना संक्रमित धेरै बिरामीको ज्यान बचायो। त्यो बेलाको काम गर्दाका कहालीलाग्दा अनुभव सम्झन्छन्, उनी।

बेलझुण्डी अस्थायी कोभिड अस्पतालमा एक जना करिब ६० वर्षीया स्तन क्यान्सरपीडित कोरोना संक्रमित आमैलाई बचाएको पनि सम्झन्छन्, डा. अमित। ती आमैको स्तन क्यान्सरको शल्यक्रियापछि किमोथेरापी उपचार भइरहेका बेला उनलाई कोरोना संक्रमण भएको रहेछ। क्यान्सरका कारण रोग प्रतिरोधात्मक क्षमता नै कमजोर भएकी आमैले करिब दस दिनको औषधि उपचारपछि कोरोना संक्रमण जितेको डा. अमितले अनुभव सुनाए।

परिवार नियोजन संघमा काम
छात्रवृत्ति करारको काम सकिएपछि डा. अमित नेपाल परिवार नियोजन संघको कर्मचारीका रूपमा दाङ नै पुगे। हाल त्यहाँ उनी क्लिनिकल कोअर्डिनेटरका रूपमा कार्यरत छन्। डा. अमितको चिकित्सकीय विधा नै समग्र रोगको उपचार गर्ने हो। त्यसैले उनी बिरामीको स्वास्थ्य परीक्षण गरी आफ्नो ज्ञान र सीपले भ्याएसम्म उपचार गर्छन्। थप उपचार आवश्यक परेमा सम्बन्धित विशेषज्ञकहाँ रिफर गर्नु उनको दैनिकी हो। साथै, परिवार योजनालगायतका विषयमा जनचेतना जगाउने काममा पनि उनी सक्रिय छन्।

जेठ १७, २०८२ शनिबार १२:०८:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।