माईखोलाको बाढी बस्तीमा पस्यो : सुगाबथानका २२ घर डुबानमा

भद्रपुर : मनसुन सुरू भएसँगै गए राति माईखोलामा आएको बाढी बस्तीमा पस्दा झापा गाउँपालिका-२ स्थित सुगाबथान क्षेत्रका २२ घर डुबानमा परेका छन्।
बाढीका कारण स्थानीयवासी सुरक्षित स्थानतर्फ सरेका छन्। वडाध्यक्ष हिमाल चाम्लागाईका अनुसार सुगाबथान, मिलनबस्ती, कुवाडी, सडकबस्तीलगायत क्षेत्रमा बाढी पस्दा ६० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैखेतीमा क्षति पुगेको छ।
‘माईखोलामा सामान्य बाढी आउँदा मात्रै यस्तो अवस्था भएको हो,’ अध्यक्ष चाम्लागाईले भने, ‘यदि ठूलो वर्षा भयो भने झापा गाउँपालिकाका वडा नं १ र २ का तीन हजार घरधुरी विस्थापित हुने जोखिम छ।’
यस वर्ष सरदरभन्दा बढी वर्षा हुने मौसम पूर्वानुमान विभागको सूचनापछि स्थानीयवासीहरूमा बाढीको त्रास बढेको छ।
शुक्रबार राति पूर्वी पहाडी तथा तराईका केही क्षेत्रमा भारी वर्षा भएको छ। झापा, मोरङ, सुनसरी लगायतका जिल्लाका केही स्थानमा २०० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन प्रणाली अहिले बिस्तारै देशका अन्य भागमा पनि फैलिने क्रम जारी छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको रेखा पूर्वी तथा मध्य नेपाल हुँदै पश्चिमतिर सरिरहेको छ।
जेठ १७, २०८२ शनिबार १०:१९:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।