मनसुन भित्रिएसँगै कोशीमा भारी वर्षा: राजमार्ग बगायो, पूर्वी पहाडको यातायात ठप्प

धनकुटा : मनसुन भित्रिएको तेस्रो दिनमै पूर्वी नेपालमा भारी वर्षा भएसँगै कोशी राजमार्गको धरान-धनकुटा सडकखण्ड लेउती खोलामा आएको बाढीले बगाएको छ। जसकारण पूर्वी पहाडी जिल्लाको यातायात सेवा पूर्णरूपमा ठप्प भएको छ।
धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित फेदीमा रहेको करिब १०० मिटर सडक आज बिहान परेको अविरल वर्षापछिको बाढीले बगाएको मूलघाट प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक टङ्क थापाले जानकारी दिए।
सडक अवरोधका कारण कोशी राजमार्ग तथा तमोर करिडोर भएर पूर्वी तराईबाट धनकुटा हुँदै भोजपुर, सङ्खुवासभा, ताप्लेजुङ र पाँचथरसम्मको यातायात पूर्णरूपमा ठप्प भएको छ।
मनसुन सुरु भएसँगै पूर्वी नेपालमा भारी वर्षा भइरहेको छ। प्राप्त विवरण अनुसार, झापाका धेरै ठाउँमा रातिभरमा २०० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड भएको छ।
सडक अवरोध खुलाएर यातायात सञ्चालनका लागि सडक डिभिजन कार्यालय धनकुटासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।
जेठ १७, २०८२ शनिबार १०:०८:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।