घरझगडा घरभित्रै गर्न कांग्रेसलाई ओलीको सुझाव, भने- ‘गृहमन्त्रीले राजीनामा गर्नु पर्दैन’

घरझगडा घरभित्रै गर्न कांग्रेसलाई ओलीको सुझाव, भने- ‘गृहमन्त्रीले राजीनामा गर्नु पर्दैन’

काठमाडौं : गृहमन्त्री रमेश लेखकको राजीनामा प्रकरणलाई लिएर सत्तारुढ नेपाली कांग्रेसभित्रै देखिएको सार्वजनिक विवादप्रति टिप्पणी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक विषयलाई बाहिर ल्याएर तमासा नगर्न सुझाव दिएका छन्।

शनिबार १३औं कान्तिपुर हाफ म्याराथनको उद्घाटनपछि आयोजित छलफल कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कांग्रेस नेताहरूलाई पार्टीभित्रका समस्या घरभित्रै समाधान गर्न आग्रह गरे।

कांग्रेसका केही नेताहरूले गृहमन्त्री लेखकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिट भिसा प्रकरणमा जोडेर राजीनामा मागेपछि प्रधानमन्त्रीको यस्तो बताएका हुन्। प्रधानमन्त्रीले पार्टीभित्रको विवादलाई ‘घरझगडा’को संज्ञा दिँदै त्यसलाई सार्वजनिक नगर्न सुझाव दिए।

‘पार्टीभित्र केही समस्या हुन सक्छ। त्यो पार्टीको समस्या, व्यक्तिगत लाइक, डिस्लाइक भन्दा पनि आकांक्षाहरूले ध्रुवीकरण अथवा अरु कुनै कारणले केही हुन सक्छ,’ उनले भने, ‘तर दल र दलका नेताहरूले त्यो कुनै पनि पार्टी, मेरो पार्टीको वा अर्को पार्टीको कसैको घरझगडा घरभित्र बसेर गर्नुस्, आँगनमा निस्केर तमासा गरेर छिमेकीलाई डिस्टर्ब नगर्नुस्।’

प्रधानमन्त्रीले गृहमन्त्रीमाथि ‘आधारहीन आरोप’ लागेको र राजीनामा मागिएको संकेत गर्दै कांग्रेस नेताहरूलाई त्यसमा नलाग्न अप्रत्यक्ष रूपमा सुझाव दिए।

यसका अलावा उनले प्रतिपक्षी दलहरूले आफ्नो राजनीतिक अस्तित्व संकटमा परेकाले कुनै आधार नभए पनि चिच्याइहाल्नुपर्ने अवस्थामा पुगेको तर्क गरे। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मातहतको एउटा कर्मचारीलाई बोलाएर सोध्दैमा गृहमन्त्रीले राजीनामा गर्न आवश्यक नरहेको प्रधानमन्त्रीको भनाइ थियो।

‘गृहमन्त्रीमाथि कुनै आरोप केही पनि छैन,’ प्रधानमन्त्रीले भने, ‘यो कुनै मुद्दा मामिला पनि भएको छैन। यो कुनै इस्यु होइन। गृहमन्त्रीको राजीनामा माग नित्तान्त पूर्वाग्रहपूर्ण, निराधार, अनुचित क्रियाकलाप हो। त्यसकारण यस अनुचित क्रियाकलापलाई साथ दिन सकिँदैन। गृहमन्त्रीले राजीनामा गर्नु पर्दैन, त्यसकारण गर्नुहुन्न।’

जेठ १७, २०८२ शनिबार ०९:५८:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।