१५ रुपैयाँले बढ्यो अण्डाको मूल्य

१५ रुपैयाँले बढ्यो अण्डाको मूल्य

चितवन : लामो समय घाटामा रहेका अण्डा किसानहरूले हालैको मूल्य वृद्धिसँगै केही राहत महसुस गरेका छन्। चर्को गर्मीले उत्पादन घट्दा बजारमा माग बढेपछि अण्डाको मूल्य उकालो लागेको हो।

नेपाल लेयर्स कुखुरा पालक सङ्घले आजदेखि एक्सएल अण्डाको फार्म मूल्य प्रतिक्रेट (३० वटा) रू ४८० तोकेको छ। यो मूल्य अघिल्लोभन्दा प्रतिक्रेट १५ रुपैयाँ बढी हो। यसले किसानले प्रतिगोटा रू १५.५ पाउनेछन्।

तर, सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार अण्डाको उत्पादन लागत प्रतिगोटा रू १६.५६ पर्न आउँछ।

‘बढेको मूल्यले पनि लागत उठ्न सकेको छैन,’ पोखरेल भन्छन्, ‘तर, केही राहत भने पक्कै मिलेको छ।’

पोखरेलका अनुसार, गर्मीका कारण अण्डा उत्पादन २५ प्रतिशतसम्म घटेको छ। पाँच महिनाअघि दैनिक ४० हजार कार्टुन उत्पादन हुने गरेकोमा अहिले २५ हजार हाराहारीमा झरेको छ।

दानाको मूल्य वृद्धि र अण्डाको कम मूल्यका कारण करिब ७५ प्रतिशत किसान विस्थापित भइसकेका छन्। यद्यपि, ठूला फार्महरूले माग धानिरहेका छन्।

जेठ १७, २०८२ शनिबार ०८:४२:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।