नेपालमा प्रदर्शन स्थगित गरिएको ‘महाभोज’को प्रिमियर अस्ट्रेलियामा

नेपालमा प्रदर्शन स्थगित गरिएको ‘महाभोज’को प्रिमियर अस्ट्रेलियामा

काठमाडौं : नेपालमा प्रदर्शन अनिश्चित भएपछि चलचित्र ‘महाभोज’को प्रिमियर अब अष्ट्रेलियामा हुने भएको छ।

१ जुन शनिबारको दिन पर्थस्थित ग्यालेरिया सपिङ सेन्टरको इभेन्ट सिनेमामा फिल्मको प्रिमियर हुने भएको हो। साँझ ६ बजेदेखि सुरू हुने प्रिमियरको व्यवस्थापन रोटेपिङ इन्टरटेन्मेन्टले गरिरहेको छ।

नेपालमा जेठ १५ गते गणतन्त्र दिवसमा प्रदर्शन गर्ने तयारीमा रहेको ‘महाभोज’ राजधानीक काठमाडौंमा सम्भावित आन्दोलनका कारण अन्तिम घडीमा स्थगित गरिएको थियो।

अस्ट्रेलियामा हुने प्रिमियरमा चलचित्रका प्रमुख कलाकार र निर्देशक सहभागी हुने छैनन्। उनीहरू केही दिनपछि अस्ट्रेलियाका अन्य सहरका शोहरूमा भने सहभागी हुनेछन्।

दिनेश राउत निर्देशित फिल्मले सहकारी ठगीको मारमा परेको परिवारको स्थिति र यसले समाजमा पारेको प्रभावलाई मनोरञ्जनात्मक तथा भावनात्मक तरिकाले प्रस्तुत गरेको छ।

यसमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको अभिनय रहेको छ।

हालै काठमाडौंमा आयोजित प्रिभ्यु प्रदर्शनमा सहकारी पीडित, पत्रकार र चलचित्र युनिटको सहभागिता थियो। प्रदर्शनपछि पत्रकारहरूबाट सकारात्मक प्रतिक्रिया मिलेको छ।

उनीहरूले सामाजिक यथार्थलाई कलात्मक ढङ्गमा चित्रण गरिएको भन्दै प्रशंसा गरेका छन्। सहकारी पीडितहरूले भने चलचित्रले आफूहरूलाई अधिकारका लागि बोल्न प्रेरित गरेको बताएका छन्।

जेठ १७, २०८२ शनिबार ०८:३४:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।