भिजिट भिसामा 'अगुल्टो लागेका' गृहमन्त्री डिआइजी सरुवामा 'बिजुली चम्कदा' तर्सिए

काठमाडौं : डिआइजी सरुवामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको डिआइजीको रुवासँगै गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको अनुसन्धान प्रभावित पार्ने दुष्प्रयास गरेको भन्दै आलोचना भएपछि उनी ब्याक भए।
प्रहरी नायब महानिरीक्षक (डीआईजी) सरुवामा अख्तियारका प्रमुख आयूक्तको सहमतीमै हिमालय श्रेष्ठको सरुवा गरेर हालै बढुवा भएका ओम रानाको पदस्थापना भएको थियो। राना एसएसपीको रुपमा अख्तियारमै थिए। डिआइजी र एसएसपीको सरुवा गृहमन्त्रीले गर्ने हुन्।
सरुवा सूची बाहिरिए लगत्तै भिजिट भिसाको अनुसन्धान गरिरहेको आयोगमा रहेका डिआइजीको सरुवा गरेर अनुसन्धानमा प्रभाव पार्न खोजेको भनेर आलोचना भएपछि श्रेष्ठ आयोगमै रहे पनि उनको सरुवा भएको उपत्यका प्रहरी कार्यालयमा रानालाई पठाइयो।
'बिजुली चम्कदा' डराए गृहमन्त्री
शुक्रबार बिहान प्रहरीले जारी गरेको पहिलो विज्ञप्तिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डीआईजी श्रेष्ठलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा गरिएको थियो। उनी ६ महिना अगाडि डिआइजीमा बढुवा भएर अख्तियार पुगेका थिए।
रानीपोखरीका डीआईजी ध्रुवराज राउत अनिवार्य अवकाशमा गएकाले त्यता डिआइजीको दरबन्दी रिक्त थियो। उनको त्यता सरुवा भयो। प्रहरीले सार्वजनिक गरेको सूचनामा यो सरुवा जेठ १३ गते मंगलबारको गृहमन्त्रीस्तरीय निर्णयबाट भएको उल्लेख थियो।
अख्तियारमा कुनै पनि कर्मचारीको सरुवा गर्दा अख्तियार प्रमुखको मौखिक अनुमति लिने प्रचलन छ। यो संवैधानिक निकायको स्वायत्तता कायम राख्ने महत्त्वपूर्ण अभ्यास हो। डिआइजी श्रेष्ठसँगै बढुवा भएका डिआइजीहरु प्रदेश प्रमुख भएका छन्। उनी खुमबहादुर खड्काले राष्ट्रिय अनुसन्धान विभागबाट सिधै प्रहरीमा ल्याएका सूचीमध्येका प्रहरी अधिकृत हुन्।
उनले नै सरुवाको इच्छा राखेपछि अख्तियार प्रमुख प्रेम राइसँगको सल्लाहमा त्यहीँ एसएसपीमा रहेका ओम राना डिआइजीमा बढुवा भएकाले उनलाई पदस्थापना गर्न सहमती पाए अनुसार सरुवा सूची निस्कियो। राना रक्त चन्दन तस्करी लगायतका गम्भिर प्रकृतीको अख्तियार दुरुपयोगमा जोडिदै आएका अधिकृत हुन्।
तर सामाजिक सञ्जाल र मिडियामा अनुसन्धान प्रभावित गर्ने प्रयास भन्दै तीव्र आलोचनापछि गृहमन्त्री लेखक आफ्नो निर्णयबाट पछि हट्न बाध्य भए। प्रहरीको मानवस्रोत विभागले शुक्रबार नै दोस्रो विज्ञप्ति सार्वजनिक गरेर रानीपोखरी सरुवा गरिएका डीआईजी श्रेष्ठको दरबन्दी अख्तियारमै राखियो
डीआईजी रानाले पदबहाली गर्न नपाउँदै अख्तियारबाट रानीपोखरीमा सरुवा भयो। प्रहरीले सार्वजनिक गरेको सूचनाअनुसार, शुक्रबार नै गृहमन्त्रीस्तरीय निर्णयबाट श्रेष्ठ र राना दुवैको पुनः सरुवा भएको थियो।
लेखकको ‘भिजिट भिसा’ कनेक्शन
यो सरुवा प्रकरणको तार ‘भिजिट भिसा’ काण्डमा अख्तियारले गरिरहेको अनुसन्धानसँग जोडियो। गृहमन्त्री रमेश लेखक स्वयं उक्त अनुसन्धानको दायरामा आउन सक्ने जोखिम रहेका बेला भएको सरुवा अनुसन्धान प्रभावित गर्ने दुष्प्रयासका रुपमा लिइयो।
‘भिजिट भिसा’ प्रकरणको सूचना संकलन तथा अनुसन्धान समन्वयमा अख्तियारको डीआईजीको भुमिका हुने नै भयो। त्यसैले श्रेष्ठको सरुवा अनुसन्धानलाई प्रभावित पार्न खोजेकोसँग जोडियो।
विवाद चुलिएपछि र सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रश्न उठेपछि प्रहरीले शुक्रबार तेस्रो विज्ञप्ति पनि सार्वजनिक गरेको थियो। जहाँ डीआईजी सरुवाका विषयमा उठेका प्रश्नहरू ‘सत्य नभएको’ दाबी गर्दै डीआईजी श्रेष्ठ अख्तियारकै दरबन्दीमा रहेको उल्लेख गरी विवाद थामथुम पार्न खोजियो।
*केही तथ्यगत त्रुटीका कारण समाचार पुनर्लेखन गरिएको छ।
जेठ १७, २०८२ शनिबार ०८:०७:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।