नारायणहिटीमा सरकारी निषेधाज्ञापछि शान्तिबाटिका सर्यो राजवादीहरूको आन्दोलन

काठमाडौं : स्थानीय प्रशासनले नारायणहिटी दरबार संग्रहालय आसपास निषेधाज्ञा जारी गरेपछि राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाको मागसहित आन्दोलनमा होमिएको संयुक्त जनआन्दोलन समितिले आन्दोलनको स्थान नै परिवर्तन गरेको छ।
समितिका संयोजक नवराज सुवेदीले सरकारले नारायणहिटी क्षेत्रमा निषेधाज्ञा जारी गरेसँगै आन्दोलनलाई शान्तिबाटिकामा केन्द्रित गर्ने भएको जानकारी दिए। उनीद्वारा जारी सूचनामा दिउँसो १ बजे शान्तिवाटिकामा जम्मा हुन आह्वान गरिएको छ।
जारी सूचनामा आन्दोलन शान्तिपूर्ण हुने र जनताको बलमा सफल हुने समेत दाबी गरिएको छ। यसअघि गणतन्त्र दिवसको दिन शान्तिबाटिकामै भएको आन्दोलन हिजो शुक्रबार भने माइतीघरदेखि नयाँ बानेश्वर भएको थियो।
राजसंस्था र हिन्दूराष्ट्र पक्षहरुले राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापना नभएसम्म आन्दोलनलाई जारी राख्ने बताएका छन्। उनीहरूले आन्दोलन र शक्तिकै बलमा राजसंस्था ल्याएरै छोड्ने दाबी समेत गरेका छन्।
जेठ १७, २०८२ शनिबार ०७:३२:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।