मुम्बई इन्डियन्स आईपीएलको दोस्रो क्वालिफायरमा, गुजरात बाहिरियो

काठमाडौं : पाँचपटकको च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।
शुक्रबार भएको इलिमिनेटर खेलमा मुम्बईले गुजरात टाइटन्सलाई २० रनले हराउँदै फाइनल प्रवेशको सम्भावना कायम राखेको हो।
मुम्बईले दिएको २२९ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०८ रन मात्र बनाउन सक्यो।
गुजरातका लागि साइ सुदर्शनले सर्वाधिक ८० रन बनाए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन। अन्य ब्याट्सम्यानमध्ये वासिङटन सुन्दरले ४८, शेरफन रदरफोर्डले २४ र कुशल मेन्डिसले २० रनको योगदान दिए।
बलिङतर्फ मुम्बईका लागि जसप्रीत बुमराह र ट्रेन्ट बोल्टले २-२ विकेट लिए भने मिचेल सान्टनर र अश्वनी कुमारले १-१ विकेट हात पारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २२८ रनको विशाल योगफल खडा गरेको थियो।
मुम्बईका ओपनर रोहित शर्माले ५० बलमा उत्कृष्ट ८१ रन बनाए। अर्का ओपनर जोनी बेयरस्टोले ४७, सूर्यकुमार यादवले ३३ तथा कप्तान हार्दिक पाण्ड्याले अविजित २२ रन जोडे।
यो जितसँगै मुम्बई इन्डियन्सले अब फाइनलमा स्थान बनाउनका लागि पञ्जाब किङ्ससँग दोस्रो क्वालिफायर खेल्नेछ। इलिमिनेटरमा पराजित भएसँगै गुजरात टाइटन्स भने प्रतियोगिताबाट बाहिरिएको छ।
जेठ १७, २०८२ शनिबार ०७:२२:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।