मध्यरातमा इलाम र झापामा अति भारी वर्षा, आज दिउँसो यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : १५ गतेबाट मनसुन प्रवेश गरेको नेपालको पूर्वी भेगमा शुक्रबार राति अति भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा झापा र इलाममा २०० मिलिमिटर भन्दा बढी वर्षा मापन भएको छ।
विभागका अनुसार त्यस अवधिमा झापाको शनिश्चरेमा २०३, इलामको बरफल्याङमा २०२, सोक्तिममा १७६, कन्काईमा १२०, सुनसरीमा १२५ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ।
यसका अलावाम झापाको अनारमनी र बिर्तामोड, धनकुटाको मुलघाट र मछुवाघाट, लमजुङको राइनासटार र कुन्छा, बाराको कलैया तथा गोरखामा पनि मध्यम वर्षा भएको छ। नेपालको पूर्वी भेग भएर नेपाल प्रवे गरेको मनसुन केही दिनमै देशभर फैलन विभागका मौसमविदहरुको पूर्वानुमान छ।
यसका अलावा अहिले देशको पश्चिम र मध्य भु-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ।
जसकारण दिउँसो कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।
राति कोशी र मधेश प्रदेशको केही स्थानहरू तथा बाँकी पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश र मधेश प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।
जेठ १७, २०८२ शनिबार ०७:०६:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।