नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालय बीच सहकार्यका हुने

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालय बीच सहकार्यका हुने

काठमाडौं : नेपाल विश्वविद्यालय र नेपाल उद्योग वाणिज्य महासंघबीच शैक्षिक प्रणालीलाई उद्योग-व्यवसायसँग जोड्दै अनुसन्धान, सीप विकास र रोजगारी सिर्जनाका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ।

महासंघ सचिवालयमा भएको भेटवार्तामा दुवै पक्षले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान र दक्षता प्रदान गर्दै रोजगार योग्य जनशक्ति उत्पादन गर्न मिल्ने संरचना विकास गर्नुपर्नेमा सहमति जनाए। साथै उद्योगको आवश्यकता अनुसार पाठ्यक्रम परिमार्जन, तालिम कार्यक्रम सञ्चालन, र संयुक्त परियोजनाहरू अघि बढाउने सम्भावनाबारे पनि विस्तृत कुराकानी भएको छ।

महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सहकार्यलाई निजी क्षेत्र र शैक्षिक संस्थाबीचको दूरी घटाउने अवसरको रूपमा हेर्ने बताए। उनले भने, ‘यस्तो सहकार्यबाट उद्योगलाई आवश्यक दक्ष जनशक्ति उत्पादन हुनेछ र युवाहरूका लागि रोजगारीका अवसरहरू पनि बढ्नेछन्। महासंघ यसमा सकारात्मक छ।’

नेपाल विश्वविद्यालयका कुलपति डा. विन्दुनाथ लोहनीले सहकार्यले नेपाली शैक्षिक प्रणालीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न मद्दत पुग्ने बताए। उनले भने, ‘हामी विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप र उद्यमशील सोच दिन चाहन्छौं। महासंघसँगको सहकार्यले यसमा ठूलो योगदान पुर्याउनेछ।’

उपकुलपति डा. अर्जुन कार्कीले सीपयुक्त, दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन विश्वविद्यालयको प्रमुख उद्देश्य भएको उल्लेख गर्दै त्यसका लागि उद्योग वाणिज्य महासंघसँग सहकार्य अपरिहार्य भएको धारणा राखे।

दुवै पक्षले संयुक्त अनुसन्धान, नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन, इन्टर्नसिप कार्यक्रम र रोजगारी सिर्जनाका क्षेत्रमा सहकार्य गर्न सकिनेमा सहमति व्यक्त गरेका छन्। सहकार्यले शिक्षा र उद्योगबीचको सम्बन्धलाई अझ सशक्त बनाउने आशा गरिएको छ।

जेठ १६, २०८२ शुक्रबार १९:०३:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।