परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच हङकङमा द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच हङकङमा द्विपक्षीय भेटवार्ता

काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा र चीनका विदेशमन्त्री वाङ यीबीच आज हङकङमा औपचारिक द्विपक्षीय भेटवार्ता भएको छ।

चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा आयोजना गरिएको अन्तर्राष्ट्रिय महासन्धि समारोहमा पर्यवेक्षक राष्ट्रको हैसियतमा सहभागी राणा-वाङबीच भएको भेटमा नेपाल–चीन सम्बन्ध, साझा हित र चासोका विषयमा कुराकानी भएको बताइएको छ।

डा राणाले चीनसँगको लामो मित्रता र सहयोगलाई उच्च महत्व दिँदै आर्थिक, सामाजिक विकास र प्रविधि हस्तान्तरणमा निरन्तर सहयोगको अपेक्षा व्यक्त गरिन्। उनले नेपालले “एक चीन नीति” प्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने स्पष्ट पारिन्। राणा-वाङबीच प्रधानमन्त्री केपी शर्मा ओलीको गत डिसेम्बर चीन भ्रमणका सम्झौता-सहमति कार्यान्वयनबारे पनि छलफल भयो।

यस वर्ष नेपालको भ्रमण वर्ष मनाइरहेकाले राणाले वाङलाई नेपाल भ्रमणको निमन्त्रणा गरिन्, जसमा वाङले सकारात्मक प्रतिक्रिया दिए।

वाङले पनि सगरमाथा संवाद सफलतापूर्वक सम्पन्न गरेकामा नेपाललाई बधाई दिएर जलवायु परिवर्तन र वातावरण संरक्षणमा सहकार्यको प्रस्ताव राखे। उनले मध्यस्थताका लागि स्थापना हुन लागेको अन्तर्राष्ट्रिय सङ्गठनमा नेपाललाई समन्वय साझेदार बनाउन चीन तयार रहेको बताए।

भेटका क्रममा वाङले विश्व महिला नेतृत्वसम्बन्धी फोरममा राणालाई विशेष निमन्त्रणा समेत गरे। 

जेठ १६, २०८२ शुक्रबार १८:४३:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।