सभामुखले गरे प्रमुख दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल

काठमाडौं : सभामुख देवराज घिमिरेले संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्। सिंहदरबारस्थित संसद सचिवालयमा भएको छलफलमा उनले संसदलाई नियमित रूपमा सञ्चालन गर्न अनुकूल वातावरण बनाउने विषयमा सहकार्यको आग्रह गरे।
एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाका अनुसार छलफल संसदको आगामी बैठकका कार्यसूची र बजेट पारित गर्नेसम्मका तालिकाबारे केन्द्रित रह्यो। उनले भने, ‘संसदमा बिहीबार प्रस्तुत बजेट पारित गर्नेसम्मका कार्यतालिका तय गर्न प्रमुख प्रतिपक्षसहित सबै दललाई सहयोगको आग्रह गरिएको हो।’
संसद सञ्चालनमा स-साना विषय उठाएर अवरोध गर्ने प्रवृत्तिले लोकतन्त्रलाई कमजोर बनाउने भन्दै बर्तौलाले दलहरूबीचको संवाद र सहकार्यबाट समस्याको निकास खोजिने विश्वास व्यक्त गरे।
नेपाली कांग्रेसका मुख्य सचेतक श्यामकुमार घिमिरेले जेठ २० गतेदेखि सुरु हुने बैठकको क्यालेन्डर बनाउनेबारे छलफल केन्द्रित रहेको बताए। उनले भने, ‘बजेट र विनियोजन विधेयकलाई कसरी अघि बढाउने भन्नेबारे कुराकानी भयो, अब कार्यव्यवस्था समितिको बैठकले यसलाई पारित गर्नेछ।’
उनले प्रमुख प्रतिपक्षको जिम्मेवार भूमिका र सहजीकरणप्रति धन्यवाद दिँदै विधेयक पारित गर्ने प्रक्रिया पनि सहज हुने अपेक्षा व्यक्त गरे।
माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले सभामुखले संसदको कार्यतालिका निर्माणका लागि सुझाव मागेको बताए। उनले भने, ‘संविधान कार्यान्वयनका लागि बजेट प्रस्तुत गरिएको हो, तर हाम्रो माग पूरा नभएसम्म आवाज उठाइरहन्छौं।’
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसद्मा प्रस्तुत बजेट र विनियोजन विधेयकमाथिको छलफलको तालिकाबारे छलफल भएको बताए। उनले भने, ‘देशमा बढ्दो भ्रष्टाचार र बेथितिको पृष्ठभूमिमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन नभएसम्म सदन सञ्चालन हुन सक्दैन।’
छलफलका क्रममा दलहरूले आ-आफ्ना अडान प्रस्तुत गरे पनि संसद सञ्चालन र बजेट पारित गर्ने सन्दर्भमा सहकार्य र संवादमार्फत अघि बढ्नुपर्ने साझा बुझाइ देखिएको थियो।
जेठ १६, २०८२ शुक्रबार १८:३५:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।