पाँच लाख भारतीय रुपैयाँसहित रुपैडिहा नाकाबाट दुई जना पक्राउ

पाँच लाख भारतीय रुपैयाँसहित रुपैडिहा नाकाबाट दुई जना पक्राउ

नेपालगञ्ज : बाँकेको जयसपुरबाट पाँच लाख भारतीय रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल-भारत सीमावर्ती रुपैडिहा नाका हुँदै नेपाल प्रवेश गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश, लखनउका ४० वर्षीय नीरज चौरसिया र दाङ पुरन्धाराकी २६ वर्षीया साइना नेपाली रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीका अनुसार उनीहरूलाई राजस्व अनुसन्धान कार्यालय, कोहलपुरमा पठाइएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट भारतीय रुपैयाँ ५ सय दरका ६ सय थान र २ सय दरका १ हजार थान नोट बरामद गरिएको छ। यसरी जम्मा पाँच लाख भारतीय रुपैयाँ बरामद गरिएको हो। साथै उनीहरूले प्रयोग गरिरहेको युपी ३२ एलबी ६३८९ नम्बरको सुजुकी गाडीसमेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

उनीहरू बिहीबार पक्राउ परेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

जेठ १६, २०८२ शुक्रबार १७:४६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।