१५ दिन अघिनै नेपाल भित्रियो मनसुन, सतर्कता अपनाउनुपर्ने

१५ दिन अघिनै नेपाल भित्रियो मनसुन, सतर्कता अपनाउनुपर्ने
ai image

काठमाडौं : नेपालमा यस वर्षको मनसुन चाँडै सुरू भएको छ। मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ‘मनसुन आगमन बुलेटिन’ अनुसार नेपालमा बिहिबारदेखि मौसम प्रवेश गरिसकेको छ।

महाशाखाका अनुसार हाल मनसुन पूर्वी नेपालका कोशी प्रदेशको दक्षिणपूर्वी भू–भागमा (विशेष गरी झापा र वरपरका क्षेत्रहरूमा) फैलिएको छ। विभागले मौसम केन्द्र धरानबाट प्राप्त सूचना र स्याटेलाइट इमेजको विश्लेषणका आधारमा यो निष्कर्ष निकालेको हो।

विगत वर्षहरूमा नेपालमा मनसुन सामान्यतया जुन १३ तारिखतिर प्रवेश गर्थ्यो। तर, यो वर्षको मनसुन १५ दिन छिटो सुरू भएको छ।

महाशाखाले भनेको छ, ‘नेपालका अन्य क्षेत्रहरूमा मनसुन प्रवेशका लागि अझै केही समय लाग्ने देखिन्छ। तर, देशको पूर्वी भूभागमा केही दिनदेखि नै स्थानीय स्तरमा मनसुनी प्रभाव देखिन थालेको छ।’

महाशाखाले सबै नागरिकलाई चनाखो रहन, मौसम पूर्वानुमान पालना गर्न तथा विपद् जोखिम न्यूनीकरणका दृष्टिले सचेत रहन आग्रह गरेको छ। आगामी दिनमा बाढी, पहिरो र डुबानको सम्भावना रहने भएकाले पूर्वतयारीका साथ सतर्कता अपनाउनुपर्ने विभागको सुझाव छ।

जेठ १६, २०८२ शुक्रबार १६:५०:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।