भारतमा कोभिड देखिएपछि नाकामा सतर्कता

वीरगञ्ज : भारतमा फेरि कोभिड-१९ का संक्रमित देखिन थालेपछि पर्सामा सतर्कता अपनाउने निर्णय गरिएको छ। पर्साको जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले सीमा नाकामा स्वास्थ्य जाँच कडाइ गर्ने निर्णय गरेको हो।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा सम्पन्न बैठकले भारत र नेपालका विभिन्न ठाउँमा कोभिड संक्रमित फेला परेका कारण जोखिम बढेको भन्दै सतर्कता अपनाउनु जरुरी भएको निष्कर्ष निकालेको हो।
प्रजिअ अर्यालले भने, ‘सीमा नाकामा हेल्थ डेस्कलाई थप प्रभावकारी बनाउने निर्णय गरेका छौं। सुरक्षाकर्मी र आवश्यक जनशक्ति खटाएर व्यवस्थित स्क्रिनिङ गरिनेछ।’ उनले भारतबाट नेपाल प्रवेश गर्ने यात्रुहरूमाथि निगरानी बढाउने र स्वास्थ्य सुरक्षाका उपाय अपनाउन आग्रह गरे।
बैठकले जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। शंकास्पद बिरामीलाई अन्यत्र रेफर नगर्न र मास्क, सेनिटाइजर, अक्सिजनलगायतका महत्वपूर्ण सामग्रीको स्टक सुनिश्चित गर्न पनि निर्णय गरिएको छ।
सीमामा खटिएका कर्मचारीले तलब सुविधा नपाएको गुनासो आएपछि, रोकिएको पारिश्रमिक दिन सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ। साथै, कोभिड परीक्षणका लागि आवश्यक आरडिटी, पीसीआर कीट र खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयमा अनुरोध गर्ने बताइएको छ।
कोभिडसम्बन्धी जनचेतना अभिवृद्धि र स्वास्थ्य सतर्कता अपनाउन सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय पनि बैठकमा गरिएको छ।
जेठ १६, २०८२ शुक्रबार १६:२५:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।