बाढीको क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली सरकारको प्राथमिकतामा रहेको उर्जामन्त्री खड्काको दाबी

काठमाडौं : उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले वर्षाका कारण हुने सम्भावित क्षतिलाई न्यून गर्न सरकार सक्रिय रहेको स्पष्ट पारे। उनले भने, ‘कम्तीमा वडा तहसम्म कार्यरत जनप्रतिनिधिलाई बाढी र पहिरोबारे समयमै सूचना दिन सकियो भने ठूलो क्षति टार्न सकिन्छ।’
यस वर्ष सामान्यभन्दा बढी पानी पर्ने अनुमान गरिएको भन्दै उनले सोहीअनुसार सरकार पूर्वसूचना प्रणालीलाई अझ मजबुत बनाउने काममा लागेको जानकारी दिए।
मन्त्री खड्काले जल तथा मौसम विज्ञान विभागसँग सहकार्य गरी मौसमसम्बन्धी पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। ‘जनप्रतिनिधि र सरकार दुवैले समयमै जिम्मेवारीपूर्वक काम गरेमा क्षति न्यूनीकरणमा उल्लेख्य परिणाम आउन सक्छ,’ उनले भने।
बैठकमा मन्त्री खड्काले उर्जा मन्त्रालय विद्युत विद्येयकलाई समृद्ध बनाउने दिशामा काम गरिरहेको पनि बताए। वजेट सत्रको दौरानमा उक्त विद्येयक संसदमा ल्याउन सकेमा ऊर्जा क्षेत्रको दिगो विकासमा टेवा पुग्ने उनको भनाइ थियो।
जेठ १६, २०८२ शुक्रबार १६:१३:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।