मोहीलाई राष्ट्रिय पेय पदार्थ घोषणा गर्न माग

काठमाडौं : नेपाल डेरी एसोसिएसनको आयोजनामा, राष्ट्रिय दुग्ध विकास बोर्ड र अन्य सरोकारवाला संस्थाको सहकार्यमा, विश्व दूध दिवसको पूर्वसन्ध्यामा दूध तथा दुग्धजन्य पदार्थको उपयोगितासम्बन्धी सचेतनामूलक दुधपान कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार ‘दूधको खपत बढाऔं, अर्थतन्त्र सबल बनाऔं’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा दूध सेवनको महत्वबारे जानकारी दिइयो। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेशलाल श्रेष्ठले दूधलाई पूर्ण पौष्टिक आहार भन्दै यसको नियमित सेवन सबैका लागि आवश्यक रहेको बताए। उनले एसोसिएसनले बालबालिकाबीच दूध तथा दुग्धजन्य पदार्थप्रति जागरूकता बढाउने उद्देश्यले समय-समयमा आयोजना गर्ने कार्यक्रमप्रति खुसी व्यक्त गरे।
महासंघकै अर्का केन्द्रीय सदस्य लिलेन्द्र प्रसाद प्रधानले नेपाल डेरी एसोसिएसनले अघि सारेको मोही अभियानको समर्थन गर्दै मोहीलाई राष्ट्रिय पेय पदार्थ घोषणा गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले एसोसिएसन विगत केही वर्षदेखि मौलिक दुग्धजन्य उत्पादन र व्यवसाय प्रवर्द्धनमा क्रियाशील रहेको बताए। उनले मोहीलाई राष्ट्रियस्तरमा प्रचार गर्ने प्रयास भइरहेको जनाउँदै, विद्यार्थीहरूमा सकारात्मक सोच विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गरे।
केन्द्रीय दुग्ध सहकारी संस्थाका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले निरन्तर कार्यक्रममार्फत दूधको खपत बढाउन एसोसिएसनले खेलेको भूमिकाको प्रशंसा गरे। उनले विद्यार्थीहरूलाई अन्य कृत्रिम पेय पदार्थ र जंक फुडको सट्टा दूध तथा स्वदेशी उत्पादन रोज्न आग्रह गरे।
कार्यक्रममा एक हजारभन्दा बढी विद्यार्थीलाई निःशुल्क दूधपान गराइएको थियो। एसोसिएसनका महासचिव हेमचन्द्र खनालका अनुसार सातवटै प्रदेश र २५ जिल्लामा विभिन्न कार्यक्रम गरी विश्व दूध दिवस मनाउन निर्देशन दिइएको छ। केन्द्रीय सदस्य रमेश सञ्जेलले अन्य स्थानहरूमा पनि विद्यार्थीहरूलाई निःशुल्क दूध वितरण गरिने जानकारी दिए।
कार्यक्रममा सहभागी सबैलाई दूध तथा दुग्धजन्य पदार्थ सेवन गराइयो भने उपस्थित अतिथिहरूलाई मायाको चिनो स्वरूप दुग्धजन्य पदार्थ प्रदान गरियो।
जेठ १६, २०८२ शुक्रबार १५:५८:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।