काठमाडौंको मस्जिदमा भारतमा आतंकवादी हमलाको योजना बनेको पाकिस्तानी अधिकारकर्मीको दाबी

काठमाडौं : पाकिस्तानी राजनीतिक विश्लेषक, लेखक तथा मानव अधिकारकर्मी डा. अमजद अयुब मिर्जाले भारतमा ठूलो आतंकवादी आक्रमण गर्ने गम्भीर योजना काठमाडौंस्थित दरबारमार्गमा रहेको कश्मीरी जामिया मस्जिदमा बनेको दाबी गरेका छन्।
डा. मिर्जाले आफ्नो युट्युब च्यानल ‘रेडियो हिमालय न्यूज’ मार्फत सार्वजनिक गरेको एक भिडियोमा यो दाबी गरेका हुन्। उनले बताएअनुसार, मे २१, २०२५ को मध्यरात १ देखि ३ बजेसम्म कश्मीरी जामिया मस्जिदमा चलेको जमात-ए-इस्लामीको एक गोप्य बैठकमा यस्तो योजनाको खाका तयार पारिएको हो।
आफूलाई इस्लामी राजनीतिक र सामाजिक संगठन दाबी गर्ने जमात-ए-इस्लामीमाथि बंगलादेश सरकारले आतंकवादी गतिविधिमा संलग्न भएको आरोपमा प्रतिबन्ध लगाए पनि छ महिनाअघि मात्र आरोप पुष्टि नभएको भन्दै प्रतिबन्ध हटाएको थियो।
मिर्जाले बैठकमा सहभागी समूहले आगामी जुन ६ देखि जुन १६ सम्मको अवधिमा भारतमा ‘एकदमै ठूलो’ आतंकवादी आक्रमण गर्ने योजनालाई अन्तिम रूप दिएको दाबी गरेका छन्। यो अवधि मुस्लिमहरूको महत्वपूर्ण चाड ईद अल-अधाको मुख्य समयसँग मेल खान्छ। यद्यपि, भारतको कुन विशिष्ट क्षेत्र वा शहरमा यो आक्रमण गरिनेछ भन्नेबारे उनले केही खुलाएका छैनन्।
उनको दाबी अनुसार, यस योजनामा पाकिस्तानी आतंकवादीहरू प्रत्यक्ष संलग्न नभई ‘विदेशी आतंकवादी’हरू प्रयोग गरिनेछ। यसका लागि भारतभित्र रहेका गुप्त रूपमा सक्रिय समूहको सहयोग लिइने योजना रहेको पनि मिर्जाले बताएका छन्।
डा. मिर्जाले आफ्नो भिडियोमा नेपाललाई पाकिस्तानको गुप्तचर संस्था आइएसआईको ‘गढ’ भएको र उक्त संस्थाले त्यहाँ बसेर काम गरिरहेको आरोप पनि लगाएका छन्। उनले यो संवेदनशील जानकारी भारतीय गुप्तचर संस्थाहरूसम्म पुगिसकेको हुनसक्ने अनुमान पनि गरेका छन्।
डा. मिर्जा पाकिस्तान नियन्त्रित काश्मिरको नागरिक हुन्। उनी अहिले बेलायतमा निर्वासित जीवन बिताइरहेका छन्। उनी पछिल्लो समय सामाजिक सञ्जालमा भारतको पक्षमा आफ्ना धारणा राख्दै आइरहेका छन्।
नेपाल सरकार वा सुरक्षा निकायले यस विषयमा कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्।
जेठ १६, २०८२ शुक्रबार १३:५१:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।