‘छक्का पञ्जा’ बाहिरको फिल्ममा काम गर्दै दीपाश्री, गणेश मन्दिरमा ‘परी’को शुभ मुहूर्त

काठमाडौं : निर्देशक तथा कलाकार दीपाश्री निरौला ‘छक्का पञ्जा’ टिम बाहिरको फिल्ममा अभिनय गर्ने भएकी छिन्। गोविन्द गौतमको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘परी’मा उनले अभिनय गर्ने पक्का भएको हो।
फिल्मको शुक्रबार बिहान काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा स्क्रिप्ट पूजाअर्चना गर्दै शुभ मुहूर्त गरियो। मुहूर्त कार्यक्रममा उपस्थित भएकी दीपाश्रीले फिल्मको स्क्रिप्ट मन परेपछि काम गर्न राजी भएको बताइन्। उनले लेखक तथा निर्देशक गौतमले स्क्रिप्टमा निकै मेहनत गरेको भन्दै प्रशंसा गरिन्।
‘हामीले मात्र होइन, सबैले स्क्रिप्टमा मेहनत गरे फिल्म राम्रो बन्छ, ‘उनले भनिन्, ‘गौतमजीले यो फिल्मको स्क्रिप्टमा धेरै मेहनत गर्नुभएको छ, त्यसैले खेल्न राजी भएँ।’
कलाकार किरण केसीले पनि निर्देशक गौतमको स्क्रिप्ट पक्ष एकदमै राम्रो लागेको बताए।
उनले दीपातर्फ हेर्दै भने, ‘साँच्चिकै भन्ने हो भने, दीपा र हामीले यतिको स्क्रिप्टमा मेहनत गरेका थिएनौँ, जति डिरेक्टर साप गौतमले गर्नुभएको छ।’
फिल्ममा किरण केसी, दीपाश्री निरौला, लक्ष्मी गिरी, प्रियंका कार्की, दिनेश डिसी, दिग विजय केसी, श्याम राई लगायतका कलाकारको अभिनय रहनेछ। यद्यपि, मुहूर्तमा अभिनेत्री प्रियंका कार्की भने उपस्थित थिइनन्। अर्को फिल्ममा व्यस्त भएकाले उपस्थित हुन नसकेको निर्माण पक्षले जनाएको छ।
दीपाश्री यो फिल्मको छायाङ्कन सकेर अमेरिका जाने तयारीमा छिन्। करिब एक महिना अमेरिका बसेर फर्किएपछि उनी आफ्नै टिमको नयाँ फिल्ममा जुट्नेछिन्। यसकारण पनि निर्माण पक्षलाई यो फिल्मको छायांकन छिट्टै सक्नुपर्नेछ।
निर्देशक गौतमका अनुसार, फिल्मको छायांकन यही जेठ २८ वा २९ गतेबाट दोलखा र तनहुँ आसपासमा गरिनेछ। फिल्म काल्पनिक परी कथामा आधारित हुनेछ। फिल्ममा बाबु श्रेष्ठको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहनेछ।
दीपक शर्मा र विकास चौधरीको संगीत रहेको फिल्मका गीतमा आनन्द अधिकारीको शब्द तथा डाक्टर खेम क्षेत्री, रचना रिमाल र डाक्टर महेन्द्र भट्टको गायन रहनेछ।फिल्मको प्रोजेक्ट म्यानेजर सुवास काफ्ले हुन् भने मुख्य सहायक निर्देशक चन्द्र भण्डारी रहेका छन्।
जेठ १६, २०८२ शुक्रबार १२:५२:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।