मस्कको सरकारी जिम्मेवारीको अन्तिम दिन आज, ट्रम्प र मस्कले संयुक्त पत्रकार सम्मेलन गर्दै

मस्कको सरकारी जिम्मेवारीको अन्तिम दिन आज, ट्रम्प र मस्कले संयुक्त पत्रकार सम्मेलन गर्दै

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति ११ बजे ह्वाइट हाउसको ओभल अफिसमा एलन मस्कसँग पत्रकार सम्मेलन गर्दैछन्। यो पत्रकार सम्मेलन मस्कले ट्रम्प प्रशासनमा रहेको आफ्नो जिम्मेवारीबाट अलग भएको घोषणा गरेको भोलिपल्ट हुन लागेको हो।

ट्रम्पले सामाजिक सञ्जालमार्फत मस्कको प्रशंसा गर्दै उनलाई ‘प्रतिभाशाली’ व्यक्ति बताएका छन्। उनले मस्कको यो अन्तिम दिन भए पनि उनी सधैँ आफूहरूसँग रहने र हरेक तरिकाले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।

हिजो बिहीबार मस्कले एक्समा पोस्ट गर्दै आफू अब विशेष सरकारी कर्मचारीको रूपमा नरहेको जानकारी दिएका थिए। उनले यस जिम्मेवारीका लागि राष्ट्रपति ट्रम्पलाई धन्यवाद पनि दिएका छन्।

राष्ट्रपति ट्रम्पले मस्कलाई सरकार दक्षता विभागको जिम्मेवारी सुम्पेका थिए, जसको मुख्य कार्य सरकारी फजुल खर्च घटाउनु थियो।

ट्रम्पले राष्ट्रपति बनेपछि मस्कलाई मे ३०, २०२५ सम्मका लागि मात्र विभाग प्रमुखको रूपमा नियुक्त गरेका थिए। यसको अर्थ, मस्कको कार्यकाल उनको राजीनामाको एक दिनपछि मात्र समाप्त हुँदै थियो।

मस्कको राजीनामाको सही कारण अझै खुलाइएको छैन, तर उनी ट्रम्पले ‘बिग ब्युटिफुल बिल’ भनी वर्णन गरेको विधेयकको विरोधमा थिए। मस्कले विभागको उद्देश्य खर्च घटाउनु भएको र यो विधेयक त्यसको विरुद्धमा रहेको तर्क गरेका थिए।

‘बिग ब्युटिफुल बिल’का विभिन्न बुँदाहरूमा मस्कको असहमति थियो।

जेठ १६, २०८२ शुक्रबार ११:१२:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।