राजावादीको आन्दोलन आज पनि जारी, दिउँसो साढे १२ बजे माइतीघरमा ‘छाता विद्रोह’

काठमाडौं : राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाको माग गर्दै राजावादी समर्थकहरूले सुरू गरेको आन्दोलन आज पनि जारी रहने भएको छ। गणतन्त्र दिवसको अवसर पारेर हिजो बिहीबारदेखि काठमाडौंमा प्रदर्शन गरेका राजावादी समूहले आज पनि निरन्तरता दिँदैछन्।
आज दिउँसो साढे १२ बजे माइतीघर मण्डलामा प्रदर्शन गरिने समितिका संयोजक नवराज सुवेदीले जानकारी दिए। राजावादीहरूको यो आन्दोलनलाई ‘छाता विद्रोह’ नाम दिइएको छ। राप्रपाका नेता तथा प्रदर्शनकारीहरूले छातालाई श्रीपेचको प्रतीकका रूपमा प्रयोग गरी गणतन्त्रको विरोध र राजसंस्थाको माग गरिरहेका छन्।
यसैबीच, संयुक्त जनआन्दोलन समितिको आह्वानमा हिजो दिउँसो काठमाडौंको शान्तिबाटिकामा राजावादी समर्थकहरू भेला भएका थिए। गणतन्त्र दिवसकै दिन पारेर गरिएको प्रदर्शनमा सहभागीहरूले राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा चर्का नाराबाजी गरेका थिए।
प्रदर्शनकारीहरूले ‘राजा आऊ देश बचाऊ’, ‘हिन्दू राष्ट्र कायम गरौँ’, ‘गणतन्त्र मुर्दावाद’, ‘भ्रष्टाचार अन्त्य गर’ जस्ता नारा लगाएका थिए। प्रदर्शनमा राष्ट्रिय झण्डा, पूर्व राजसंस्थाको प्रतीक झण्डा तथा राजा वीरेन्द्र, ज्ञानेन्द्र लगायतका तस्बिरहरू बोकेका समर्थकहरूको उल्लेख्य उपस्थिति थियो।
हिजोको प्रदर्शनलाई मध्यनजर गर्दै शान्तिबाटिका र आसपासको क्षेत्रमा व्यापक रुपमा सुरक्षाकर्मी (नेपाल प्रहरी र सशस्त्र प्रहरी) परिचालन गरिएको थियो। प्रदर्शनकारीलाई शान्तिबाटिका क्षेत्रभित्रै सीमित राख्न सुरक्षाकर्मीले कडाइ गरेका थिए र अघि बढ्न दिएका थिएनन्।
यद्यपि, प्रदर्शन शान्तिपूर्ण रुपमा सम्पन्न भयो र सुरक्षाकर्मी र प्रदर्शनकारीबीच ठूलो झडप वा अप्रिय घटना भने हुन पाएन। प्रदर्शनका क्रममा भएको सभालाई सम्बोधन गर्दै समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरूले राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापना नभएसम्म आन्दोलन नरोकिने प्रतिवद्धता व्यक्त गरेका थिए।
चैत्र १५ गते काठमाडौँमा भएको आन्दोलनका क्रममा केही हिंसात्मक घटना भएपछि केही मत्थर देखिएको राजावादी समूहले गणतन्त्र दिवसको अवसर पारेर पुनः सडकमा उत्रिएका हुन्।
जेठ १६, २०८२ शुक्रबार ०९:४४:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।